शोभा पण्डित
साउन महिना मौसम हरियाली, पहिरनले हरियो, धार्मिक महत्वले पनि हरियो र पहेलो । धेरै विषयले यो महिनाको महिमा अलग्गै छ । २०८० को साउन पाँचवटा सोमबार परेको महिना । पहिलो दिन नै सोमबारे औशी धार्मिक महत्वले अझ धेरै अर्थ राख्ने दिन ।
साउन महिनाको चर्चा गर्दा महिलाले लगाउने पहिरनको विषयमा कुरा उठाइएन भने अधुरो रहन्छ । महिलाका नाडी काँचका हरिया चुरामा सजिने गरेको हुन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा अलग्गै उत्साह र उमंङग स्फूर्ती छाउने गर्दछ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा पर्ने गर्दछन् ।
पछिल्ला केही वर्ष यता किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने हेडवाजी वढेको पाइन्छ । हरियो लगाउनेको क्रेज बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ । तर पनि महिनाका सबै दिन उत्तिकै महत्व रहेको छ ।
यहा मैले आजभोलीको हरियो पहिरनको विषयमा चर्चा गर्न खेजिरहेको छु । हुन त मैले हरियो पहिरन लगाउनेको बिरोध गर्न खोजेको होईन । तर पनि मेरो मनमा लागेको विषय उठान गर्दैछु । साउने संक्रातीको दिनबाट सुरु भएको सोमबार तथा साउनको महिमा खासमा भन्नू पर्दा भगवान शिवजीको महिना । तर यस्लाई अहिले हामी शिक्षित महिलाहरुले कसरी बुझेका छौ । कहि कतै हामी यसलाई फेसन र देखावटीको रुपमा त लिएका छैनौ मेरो जिज्ञासा यसमा छ । एकपटक हामी सबैले सोचै त के हामीले लगाउने हरियो चुरापोते, हरिया र पहेला पहिरन के यो सबै हाम्रै उत्पादन हो त चाड मनाउने बाहनामा हामी करोडौं रुपया बाहिर पठाउदै छौ । त्यो पनि यस्तो आर्थिक संकटको समयमा । साउनमा पर्ने पाच वटा सोमबार भगवान शिवजी आरधना गर्दा के हरियो वा पहेँलो पहिरन नै लगाउनु पर्ने हो र यसको जवाफम जस्ता धेरै व्यक्तिले खोजिरहनु भएको छ । आफू सग भएका रातो, गुलाफी, निलो कालो जस्ता र हातभरी राता चुरा लगाएर साच्चै पुजा गर्दा भगवान शिवजी खुसी हुनुहुन्न ? मलाई जान्न मन लागेको विषय हो । यो वर्ष मात्रै साउनको लागि भनेर कती रुपिया बाहिर गयो होला अनुमान लगाउन सकिएको छ । लगाउने खाने रमाउने विषयमा आआफ्नो इच्छा आकांक्षा हुन सक्छन् ।
सामाजिक व्यक्ति सामाजिक प्राणी भएको नाताले चाडपर्व मनाउने बाहानामा हाम्रो वानी व्यवहारले गर्दा समाज कता जादै छ । हाम्रो आनी वानीमा सुधार नगर्ने हो भने आवी पुस्तालाई कस्तो समाज सुम्पने मेरो प्रश्न यही छ ।
मेरो हजुरआमा भन्नुहुन्थ्यो वर्षा, हिलो, घामपानी नभनी काम गर्दा अब त बाचियो र आजैका दिनबाट चाडपर्व सुरु भयो । चाड पर्वा सुरु हुने दिनको खुसियालीमा मनाउने दिन हो नानी साउने संक्राती । हिलोले खाएका हातखुट्टामा आफ्नै करेसाबारीमा पाइने तिउरे फुलको पात र डाठ थिचेर लगाउदा हिलोले खाएको दाग छोपिने हेर्न लायक हुने अनि बर्षामा आउने घाउ खटिरा लुतो फाल्ने चलन हो । यी सबै कुराहरु आज एकादेशको कथा भएका छन । समाजमा आएको यो बिकाराल परिवर्तनका भागिदार हामीहरु नै हौ । आफू सग भए पनि नभए पनि देखाउनु पर्ने साथीसङगी टाढिन्छन कि समाजमा एक्लो भईन्छ कि भन्ने डरले ऋण गरेरै भए पनि अरु घोडा चढ्दा आफू धुरी चढ्नु पर्ने बाध्यता रहेको छ । .
पौराणिक मान्यता ?
पौराणिक मान्यता अनुसार साउन महिना शिवको महिनाका रूपमा लिइन्छ । पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान् शिव’ लाई प्राप्त गरेको प्राचीन विश्वासका आधारमा महिलाले यसलाई धेरै महत्व दिएका छन् । साउनमा हरियो पहिरिँदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक ऊर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ । हरियो संगै पहेलो वस्त्रलाई पनि स्थान दिइन्छ ।
हरियो उपचारको रङ पनि हो जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि शयनकक्षको दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।
हरियो रङ सौभाग्यको प्रतीक हो । साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना हो । यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको छ । शास्त्रमा प्रकृतिलाई ईश्वरका रूपमा लिइन्छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पूजा गरेमा आफू र पतिको आयुसमेत बढ्ने धार्मिक विश्वास छ ।
हरियो पहिरनको इतिहासलाई हेर्ने हो भने धेरै लामो रहेको छ । इजिप्टबाट भित्रीएको यो सस्कार अहिले धेरै मुलुकमा पुगेको पाइन्छ । तर नेपालमा भने भारतीय संस्कृतिबाट चुरा लगाउने परम्परा भित्रिएको छ । हरियो चुरा लगाउने अहिलेको सस्कार मूलतः देखासिकीको संस्कृति बनेको छ । जसरी केही वर्ष यता तीज आउन एक महिना छँदै दर खाने संस्कृति सुरू भएको छ, त्यसरी नै यो हरिया चुरा लगाउने संस्कृति पनि मौलाउँदै गएको छ ।
यसको यथार्थता र महत्व नबुझी छिमेकीको प्रभावले साउन हरियो चुरा लगाई मनको रहर पूरा गर्ने परम्पराको रुपमा विकास हुन थालेको छ । हुन त जसलाई जेजस्तो मन लाग्छ, कानुनमा आँच नआउने गरी लगाउन, खान र गर्न पाउनु लोकतान्त्रिक मूल्य–मान्यताको मौलिक अधिकार हो । तर अधिकार र इच्छाका पछाडि कर्तव्य र कारणबोध गर्नु पनि जरूरी हुन्छ । मानव समाजको विकाससँगै धर्म, संस्कृति, रहनसहन, पहिरन र शृङ्गारको विकास हुँदै जाँदा धातुका गरगहना प्राचीन कालदेखि नै सुरू भएको पाइन्छ । महिलाले हाम्रो संस्कृतिबमोजिम तिज, दशैँ, तिहार जस्ता चाडपर्व, विवाह पार्टी, समारोह जस्ता कार्यक्रममा विभिन्न रङ र डिजाइनका चुरा लगाउने चलन छ ।
हामी नेपालीको अलग्गै पहिचान र सस्कृति छ । हाम्रो सस्कृतिलाई जोगाउदै आफ्नै मौलिकताका आधारमा पर्व मानाउदै समाज सुहाउदो व्यवहार गर्न सके आउने सन्ततीलाई सुसस्कृत समाज सुम्पन्न सकिन्छ । पर्व मनाउ तर हाम्रो सस्कार, परम्परा समाजलाई ध्यान दिऔ । विदेशी सस्कृति भित्रनबाट रोकौ ।