चितवन निकुञ्जमा जंगल सफारी वन्द

 

चितवन, १४ असार । चितवन राष्ट्रिय निकुञ्जले आइतबारदेखि जंगल सफारीलाई रोक लगाएको छ ।
वर्षातको समयमा जोखि धेरै हुनु भएकाले जीप, ढुंगालगायतका जंगलमा हिडडुल गरेर अवलोकन कार्यलाई बन्द गराएको हो । जंगल भित्र जीप यात्रा गर्दा खोलाको पानी वृद्धि भएर समस्या आउने, कच्ची पुलमा सवारी साधन सञ्चालन गर्दा जोखिम हुने, वर्षातले रुख लड्ने जस्ता जोखिम हुने भएकाले आइतबारदेखि अर्को सूचना जारी नहुदा सम्म वन्द गराएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेश प्रसाद तिवारीले जानकारी दिनुभयो ।
जीप संगै डुङ्गा सञ्चालन, पैदल यात्रा, निकुञ्ज भित्र पर्यटकीय गतिविधिलाई असार १६ गतेदेखि रोक लगाइएको छ उहाले भन्नुभयो ‘हरेक वर्ष वर्षातको समयमा हामीले रोक लगाउदै आएका छौ, निकुञ्जका अनुसार सफारीका लागि यहाँ ६५ जीपले अनुमति लिएका छन् ।’
सौराहाबाट ३२, कसराबाट १६ र मेघौलीबाट नौ जिपले अनुमति लिएको तिवारीले बताउनुभयो । नवलपरासीको उजौली, अमलटारी, चितवनकै माडीबाट पनि जीप सफारी हुदै आएको छ । डुङ्गा सञ्चालनका लागि तीन घाटहरु रहेका छन् । राप्ती नदीमा रहेका छ घाटमध्ये तीन घाटबाट मात्र डुङ्गा सफारी हुँदै आएको छ ।
वर्षा सुरु भएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा समेत जंगल सफारीमा रोक लगाइदै आएको छ । चितवन घुम्न आएका पर्यटकहरुको प्रमुख रोजाइ जंगल सफारी हुने गर्दछ । निकुञ्जमा सफारी रोक लगाएपछि सौराहा, पटिहानी, मेघौली लगायतका स्थानमा पर्यटकको चाप घट्ने पर्यटन व्यवसायी दिपक भट्टराइले बताउनुभयो ।
चितवन निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छ । सन् २०१८ को बाघ गणना अनुसार ९३ वटा वयस्क पाटे बाघ यस निकुञ्जमा रहेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो । यसैगरी घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिसृप तथा उभयचर, बसाई सरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका किरा फट्याङ्ग्राहरूको मुख्य वास स्थान रहेको छ । यिनै प्राकृतिक महत्वका वस्तुहरूको संरक्षणलाई ध्यानमा राखी सन् १९८४ मा चितवन राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

ताजा अपडेट