चितवन, १० असार । चितवन पर्सा राष्ट्रिय निकुञ्जमा सञ्चालन भएको सीमापार संरक्षण कार्यक्रम प्रभावकारी बन्दै गएको छ। चितवन र पर्साको निकुञ्जसँग भारतको वाल्मीकि टाइगर रिजर्भ जोडिएको छ। नेपालबाट भारतमा जान र त्यहाँबाट नेपाल आउन जङ्गली जनावरलाई सहज बनाउने उद्देश्यले सीमापार संरक्षण कार्यक्रम ल्याइएको हो। यसका लागि दुवै देशका अधिकारीबिच छलफल र जनावर एक देशबाट अर्को देशमा गएमा फिर्ता ल्याउने कामसमेत हुने गर्छ।
“स्वतन्त्रपूर्वक हिँडडुल गर्र्ने, कुनै बाधा अवरोधबिना विचरण गर्ने जनावरको अधिकार हो। यसलाई ध्यानमा राखेर हामीले सीमापार संरक्षण कार्यक्रम ल्याएका हौँ,” चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गाणेशप्रसाद तिवारीले भन्नुभयो। यो कार्यक्रम अन्तर्गत त्रिवेणीपारि भारतमा रहेको वाल्मीकि टाइगर रिजर्भ र चितवन निकुञ्जका रेन्जरबिच बैठक बस्ने र दुवै देशमा संरक्षणको अभ्यासको विषयमा जानकारी आदानप्रदान गरिँदै आएको छ।
यो कार्यक्रम अन्तर्गत नेपालबाट बाढीले बगाएका र अन्य कारणले भारत पुगेका जङ्गली जनावरलाई नेपाल ल्याउन सफल भएको निकुञ्जका सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो। सीमापार संरक्षण अन्तर्गत अहिलेसम्म आठ वटा एकसिङे गैँडा भारतबाट ल्याइएको छ।
दुवै देशका मध्यवर्ती क्षेत्रका बासिन्दा, समुदायसँग छलफल गरी संरक्षणका क्षेत्रमा देखिएका चुनौतीलाई समाधानका लागि विकल्प खोज्न यो कार्यक्रम प्रभावकारी भएको निकुञ्जले जानकारी दिएको छ। सीमापारि जनावर जाने भएकाले कोरिडोर सहज बनाउन चितवन निकुञ्ज र पर्सा निकुञ्ज जोडिएको स्थान ठोरीको सिकारीबास क्षेत्रमा जङ्गल निर्माण गरिएको छ। मानव अतिक्रमणमा परेको स्थानमा वृक्षरोपण गरी जङ्गल निर्माण गरेपछि अहिले दुवै देशमा जनावर आउन जान सहज भएको निकुञ्जले जानकारी दिएको छ। “बाघ, गैँडा, हात्तीलगायतका जङ्गली जनावरका लागि यो मार्ग उपयुक्त भएको छ, वन्यजन्तुको चोरी सिकार कम गर्न र संरक्षणमा यसले टेवा पुग्छ,” सूचना अधिकारी तिवारीले भन्नुभयो। दुवै देशका अधिकारीबिच छलफल गरेर संरक्षणका क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्न सहयोग मिल्ने उहाँले बताउनुभयो।
राष्ट्रिय निकुञ्ज विभागका डा। गणेश पन्तले कोरिडोरले संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो। जनावरलाई नेपालको जङ्गलमा बस्न उपयुक्त लागेन भने भारतको वनमा जाने र फेरि नेपाल आउन सक्ने भएकाले बासस्थानको अभाव हुँदैन। कतिपय अवस्थामा सिकारीले आक्रमण गर्न सक्ने र भारत गएका जनावर नआउन पनि सक्ने भएकाले यस विषयमा चनाखो हुनुपर्ने उहाँले बताउनुभयो। सीमापार संरक्षण कार्यक्रमले दुवै देशलाई फाइदा मिलेको तराई भूपरिधि कार्यक्रमका चितवन पर्सा संयोजक प्रेम पौडेलले बताउनुभयो।