सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी शुक्रबारबाट

चितवन । चितवनको भरतपुरमा शुक्रबारबाट सातौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुदैछ । तीन दिनसम्म चल्ने प्रदर्शनीको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।
उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग गर्ने उद्देश्यले चितवनका उद्योगीहरुको छाता संस्थाको रुपमा रहेको चितवन उद्योग संघको आयोजनामा हुन लागेको हो । संघको केन्द्रीय छाता संस्था नेपाल उद्योग परिसंघको प्रवद्र्धन सहयोग, मिडिया स्पेस सोलुसन्स प्रालि र फुतुरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा प्रदर्शनी हुनेछ । ‘दिगो आर्थिक विकासका लागि वृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी’ भन्ने अभियानसहित सुरु हुने प्रदर्शनीमा १५० भन्दा बढी स्टलहरु रहेनछन् । जसमा औद्योगिक मेशिनरी, प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, फुड एण्ड बेभरेज तथा अन्य सेवामूलक उद्योगहरुको उत्पादनको प्रदर्शनी रहने छ ।
अवलोकर्ताहरुलाई निःशुल्क प्रवेशको व्यवस्था हुने यस प्रदर्शनीलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनीको अवसरमा उद्योग मन्त्रालयबाट ‘वर्तमान औद्योगिक परिदृश्य, नेपालमा औद्योगिक विकासको सम्भावना र अवसर’ का विषयमा र नेपाल उद्योग परिसंघको तर्फबाट ‘मेक इन नेपाल स्वदेशी अभियान’ का विषयमा गोष्ठी तथा सेमिनार आयोजना गरिने उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनुभयो ।
प्रदर्शनीमा देशका विभिन्न जिल्लाका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नवउद्यमीहरु विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरु औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहने व्यक्तिहरु, व्यवसायिक उत्पादकहरु, नेपाली उद्योगका सञ्चालकहरु, लगानीकर्ताहरु तथा उच्च व्यवस्थापकहरु, उद्यमीका व्यवसायिक परामर्शदाताहरु, वित्तिय सेवा प्रदायकहरु, अनुसन्धानकर्ता, विद्यार्थी, संघसंस्थाका प्रतिनिधिहरु, तीनै तहका सरकारका नीति निर्माताहरु, उच्च पदस्थ अधिकारीहरु,उद्योगीका छाता संस्थाका प्रतिनिधिलगायत अवलोकनकर्ताको रुपमा रहने छन् ।
सातवटै प्रदेशको पहिचान झल्कने गरी औद्योगिक उत्पादनको स्टल राखिने यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र ,बागमती प्रदेश पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र ,घरेलु तथा साना उद्योग महासंघ, चितवन तथा छिमेकी जिल्लाका स्थानीय पालिकालगायत उद्योगीका विभिन्न छाता संस्थाहरुको सहयोगीे भूमिका रहने जनाइएको छ ।

शेयर गरौ

ताजा अपडेट