नारायणगढ । भारतको गुजरातस्थित सुरत शहरमा सन् २००७ देखि आफ्नो सेवा दिदै आईरहेको गुरुङ मःमः सरकार एण्ड क्याफेले चितवनका ग्राहकहरुलाई ध्यानमा राखी सोमबारदेखि लायन्सचोक, नारायणगढबाट आफ्नो सेवाको शुभारम्भ गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि युवा उद्यमी, समाजसेवी एवम् चितवन उद्योग संघका उपाध्यक्ष मदन घिमिरेले क्याफेको एक विशेष कार्यक्रमका बीच समुद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि घिमिरेले छिमेकी राष्ट्र भारतमा लामो समयदेखि व्यवसायिक रुपमा रेष्टुरेण्ट पेशामा आवद्ध भई सफलता हासिल गरेको टिमले नेपालको मध्यभाग चितवनको भरतपुरमा नै केही गर्ने उद्देश्यका साथ आफ्नो व्यवसायिक यात्रा थालनी गरेकोमा सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि निलकण्ठ नगरपालिका धादिङ वडा नं. १४ का वडाअध्यक्ष नवराज दुवाडीले चितवनका ग्राहकहरुलाई गुरुङ मःमः सरकार एण्ड क्याफेले भिन्न स्वादमा विभिन्न परिकारहरु उपलब्ध गराउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले युवा व्यवसायी गुरुङले रेष्टुरेण्ट व्यवसायमा गर्नुभएको लामो अनुभवका कारण पनि क्याफेले सम्पूर्ण ग्राहकहरुको मन जित्न सफल हुने बताउनुभयो ।
चितवनमा विगत केही महिनादेखि मःमः का पारखीहरुलाई आफ्नो उत्पादनहरुको स्वाद चखाउँदै आएको क्याफेले नेपालमा पहिलो शाखाको रुपमा चितवनबाट शुरु गरेको सञ्चालक एवम् मःमः सेफ राजेश गुरुङले बताउनुभयो ।
भारतीय बजारमा एकलाख असी हजार भारतीय रुपैयाँबाट आफ्नो व्यवसाय यात्रा शुरु गरेको क्याफेले शुरुको दिन साठी रुपैयाँको व्यापार गरेको थियो । व्यापारको क्रम बढ्दै जाँदा मःमःका पारखीहरु बढ्दै गएपछि भारतकै विभिन्न स्थानमा ४ वटा शाखाहरुबाट आफ्ना ग्राहकहरुको मन जित्दै आएको छ । ४ वटा शाखाहरुमा ३२ देखि ३५ जना कर्मचारीहरुले रोजगारी समेत पाएका छन् ।
भारतमा अत्याधिक रुचाइएको मःमःको ब्राण्डलाई नेपालमा पनि ल्याउनु पर्छ भन्ने मान्यता राख्दै सञ्चालकहरुले चितवनको लायन्सचोकमा आफ्नो पहिलो शाखाबाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यका साथ सोमबारदेखि नेपालमै पहिलो शाखाको रुपमा शुभारम्भ गरिएको सञ्चालक राजेश गुरुङले बताउनुभयो ।
५० लाख रुपैयाँ लगानीमा सञ्चालनमा ल्याइएको गुरुङ्ग मःमः सरकार एण्ड क्याफे (गुरुङ चाइनिज कर्नर)मा कुरकुरे मःमः, झोल मःमः, फ्राईस राईस, पनिर चिल्ली, नुडल्स, काटी रोल लगायतका चाइनिज फुडहरुको समेत स्वाद लिन पाईन्छ ।
भारतमा धेरै भन्दा धेरै रुचाइएको तन्दुरी मःमः यहाँको प्रमुख विशेषता रहेको हुँदा यसलाई छिट्टै ग्राहक सामु ल्याउने सञ्चालकको दावी छ । विगत लामो समयदेखि यस क्षेत्रमा लामो अनुभव सम्हाल्दै आएका सेफबाट तयार गरिने र सरसफाईलाई विशेष ध्यानमा राखी ग्राहकहरुलाई सेवा दिने उद्देश्य रहेको सञ्चालकहरु बताउँछन् । हाल चितवनको एक स्थानबाट आफ्नो सेवा प्रदान गर्दै आएको गुरुङस मःमः सरकार एण्ड क्याफेले चितवन लगायत नेपालका अन्य स्थानहरुमा समेत आफ्नो सेवा बिस्तार गर्ने योजना लिएको छ ।
शुभारम्भको अवसर पारेर एक सातासम्म हरेक परिकारहरुमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको सञ्चालक राजेश गुरुङले बताउनुभयो ।
