विद्युत प्राधिकरणले सक्रियता नदेखाउदा सब स्टेशन सञ्चालनमा आएन

 

चितवन, २८ फागुन । शव स्टेशन निर्माण सम्पन्न भएपनि सञ्चालनको लागि विद्युत प्राधिकरणले सक्रियता नदेखाउदा अबको एकमहिनापछि चितवनमा लोडसेडिङ हुदैछ ।
पश्चिम चितवनको चनौली स्टेशन र भरतपुर वितरण केन्द्रले विद्युतको माग धान्न नसेपछि देवनगरमा थप स्टेशन निर्माण गरिएको थियो । देवनगरको स्टेशन सञ्चालन गर्नको लागि नेपाल विद्युत प्राधिकरण वितरण शाखाले सञ्चालनका लागि पहलकदमी नगर्दा आउदो एक महिनापछि भरतपुर महानगरपालिका भरी लोडसेडिङ हुने निश्चित भएको हो ।
विद्युतको माग धेरै हुन्छ अहिले भइराखेको क्षमताले भार धान्न सक्दैन त्यसैले देवनगरमा २०÷२४ एमवीए क्षमताको स्टेशन निर्माण गरिएको हो चनौली वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले भन्नुभयो । निर्माण सम्पन्न भएर चार्च गर्नको लागि तार लैजान चितवन निकुञ्ज र वन कार्यालयले रोक लगाएको कारण समस्या भएको छ । तत्काल तार लैजान पाउने गरी स्वीकृती हुन सकेको छैन यही अवस्था रहेमा अबको एकमहिना पछि लामो लोडसेडिङ हुन्छ प्रमुख लम्सालले भन्नुभयो ।
चनौली वितरण केन्द्रले पश्चिम चितवनको रामपुर, शिवनगर, गीतानगर, पटिहानी, जगतपुर, माडी, मेघौली शुक्रनगरलगायतका स्थानमा विद्युत सेवा दिएको छ । भरतपुर वितरण केन्द्रले भरतपुर नारायणगढ, गैडाकोटलगायतको स्थानमा सेवा दिएको छ । भरतपुर वितरण केन्द्रका सूचना अधिकारी इन्जिनियर राजेन्द्र पौडेलले भन्नुभयो ‘माग धेरै छ, भार क्षमता वृद्धि गर्ने स्टेशन सञ्चालन आउन नसक्दा लोडसेडिङको विकल्प छैन ।’ भरतपुर वितरण केन्द्र अन्तर्गत ६५ हजार ग्राहक रहेका छन् भने चनौली वितरण केन्द्र अन्तर्गत ४५ हजार ग्राहक रहको छ ।
आठ महिना अगाडि निर्माण सम्पन्न भएर चार्जको तयारीमा रहेको स्टेशनमा विद्युत लाइन लैजान नसक्दा समस्या भएको नेपाल विद्युत प्राधिकरण वितरण शाखाका सहायक प्रवन्धक संगीता कार्कीले भन्नुभयो । भरतपुरको गोन्द्राङबाट दक्षिण ९ किलोमिटर तार लैजानु पर्नेछ । यस बिचको ६ किलोमिटरमा मध्यवर्ती क्षेत्र र वन डिभिजन क्षेत्र पर्दछ । वन विभाग र निकुञ्ज विभागले तार लैजान स्वीकृती दिएको छैन सहायक प्रबन्धक कार्कीले भन्नुभयो ।
वातावरण प्रभाव मुल्याङकन इआइए वन विभाग र निकुञ्ज दुवै तर्फ गराउनु पर्दछ । इआइएका लागि दुवै निकायमा फाइल गएपनि स्वीकृती नदिएको कारण तार लैजान नसकिएको कार्कीले बताउनुभयो । इआइएका लागि पहल गरेपनि फाइल अगाडि वढेको छैन दुवै निकायले अनुमती नदिएसम्म तार लैजान सकिदैन उहाले भन्नुभयो । आठ महिना अगाडि निर्माण सम्पन्न भएर पनि चार्जको लागि प्राधिकरण कार्यालय केन्द्रले पहल नगर्दा स्थानीयले लोडसेडिङको सामना गर्नु पर्ने बाध्यता भएको हो । सरकारी निकाय बिच समन्वय गरेर इआइएका लागि पहल गरेपछि मात्र काम हुने भएकाले प्राधिकरणका कर्मचारीले वेवास्ता गरेका कारण काम हुन नसकेको मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष प्रकास ढुङ्गानाले बताउनुभयो ।
राज्यले लगानी गरेर निर्माण गरेको स्टेशन सञ्चालनको लागि पहल गर्न सम्वन्धीत निकायले अग्रसरता देखाउनु पर्दछ । जनताको लागि बनाएको स्टेशन सञ्चालन नगरे समस्या आउछ त्यो वुझेर प्राधिकरणका कर्मचारी आफैले ताकेता गरेर इआएको स्वीकृती लिएर छिटो काम गर्नु पर्ने अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट