काठमाडौँ ८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए ।
करिब दुई घन्टा संवाद भएपछि कांग्रेस नेताहरु बाहिरिएका छन् । भेटमा कांग्रेसका तर्फबाट नेताहरुले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रुपले अघि बढेको बताए । ‘हामीले आफ्ना कुराहरु राख्यौँ । उहाँका पनि कुराहरु सुन्यौँ । छलफल सकारात्मकरुपले अघि बढेको छ,’ उनले भने, ‘अझै केही दिन समय छ । उहाँले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’
राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता छ । बैठकमा नेताहरुबीच त्यसअघि संवादमार्फत निर्णयमा पुग्ने सहमति भएको छ । कान्तिपुर बाट