चितवन २९ माघ । चितवनमा अहिले कुखुराको अन्डा खुद्रा मूल्य गोटाको १५ रुपैयाँ छ । किसानले एक क्रेट अन्डाको मूल्य बढीमा २५० रुपैयाँ पाएको अन्डा उत्पादन गर्ने लेयर कुखुरापालकको संगठन नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलले जानकारी दिए ।
एक क्रेटमा ३० अन्डा हुन्छन् । किसानले एउटा अन्डाको मूल्य सरदर साढे सात रुपैयाँ हाराहारी पाएको उनले बताए । दाना, औषधि, बिजुली र अन्य खर्च जोड्दा मासुका लागि पालिने ब्रोइलर कुखुराको लागत प्रतिकिलो २१० रुपैयाँ पर्ने किसान दीपक पाण्डेको भनाइ छ । तर कुखुरा प्रतिकिलो १८० देखि १९० रुपैयाँसम्म बिक्री भएको छ । चितवनको बजारमा मासु प्रतिकिलो ३६० रुपैयाँसम्म छ ।
जिउँदो कुखुरा र मासुको मूल्य अन्तर किलोमा एक सय रुपैयाँसम्म हुनुपर्ने हो । तर न किसानले मूल्य पाए, न उपभोक्ताले सस्तो खान पाएका छन् । ‘पाँच वर्षअघि ३०र३५ रुपैयाँ किलाको दाना अहिले दोब्बर भएको छ । तर पोल्ट्री उत्पादन चल्ला, तयारी कुखुरा र अन्डाको मूल्य पाँच वर्षअघि जे थियो, त्यसको आधा छ,’ नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले भने ।
सस्तो कुखुरा भारतबाट ल्याउने र नेपाली उत्पादन पनि सस्तोमै किन्ने गरेका कारण किसान मर्कामा परेको पोल्ट्री महासंघका उपाध्यक्ष टीका पोखरेलले बताए । कुखुराको मासु अवैध तरिकाले भारतबाट आउने गरेको स्थानीय कुखुरा पालकहरूको दाबी छ । ‘भारतमा दुई किलोभन्दा बढी तौलका कुखुराको मूल्य छैन ।
तौल बढी भएको कुखुराको मासुमा रेसा पस्छ । रेसा भएको मासु उता बिक्री हुँदैन । त्यस्ता कुखुरा यता ल्याएर बजार बिगार्ने काम भएको छ,’ पोखरेलले भने । त्यस्ता कुखुरा होटल र पार्टी प्यालसेमा खपत हुने गरेको उनको भनाइ छ । ‘भारतका कुखुरा अवैध रूपमा ल्याउने नेपालगन्जका ती व्यक्ति पहिचान गरेर हामीले त्यसो नगर्न दबाब दियौं । आठर१० दिन रोकिन्छ अनि फेरि सुरु हुन्छ,’ पोखरेलले भने ।
कुखुरा र अन्डा उत्पादकबाट उपभोक्तासम्म पुग्न बीचमा विभिन्न तह पार गर्नुपर्छ । उत्पादकबाट सप्लायर्सले किन्छन् । सप्लायर्सले डिलरलाई, डिलरले थोक बिक्रेतालाई बेच्छन् । अनि खुद्रा बिक्रेता र साइकल बिक्रेता हुँदै कम्तीमा तीन र बढीमा पाँच तह पार गरेर पोल्ट्री उत्पादन उपभोक्तासम्म पुग्छ । सप्लायर्सबिना पोल्ट्री उत्पादन उपभोक्तासम्म पुग्न गाह्रो रहेको दाना, चल्ला, कुखुरा, अन्डा बजार पुर्याउने व्यवसायमा संलग्न व्यवसायीहरूको संस्था नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका पूर्वअध्यक्ष तेजनाराण पाण्डे बताउँछन् । ‘तर सप्लायर्सहरूका कारण मात्रै पनि मूल्य कम बेसी हुने होइन । बजारमा अनेक पक्ष छन् । बीचका केहीले मार्जिन बढी राखे मूल्य बढ्ने हो तर त्यस्तो कमै हुन्छ,’ पाण्डेले भने ।
सप्लायर्सले किसानलाई चल्ला र दाना दिन्छन्, हुर्केपछि कुखुरा र अन्डा पनि उठाउँछन्, जसका कारण उत्पादन मूल्य उत्पादकको हातबाट सप्लायर्सको तजबिजमा पुगिसक्ने नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन पोखरेलको भनाइ छ । ‘किन्नेले मागेको मूल्यमा नदिए जोगाएर राख्ने उपाय छैन । बजार यसरी पनि बिग्रँदै आएको छ,’ उनले भने । मासुको उचित मूल्य पाउन किसानको संलग्नता रहने गरेर विभिन्न ठाउँमा ठूला कोल्ड स्टोर सरकारले निर्माण गर्नुपर्ने व्यवसायीहरूको माग पूरा हुन सकेको छैन । अब निश्चित मापदण्ड बनाएर पूरा गर्नेलाई खरिद या बिक्रेता प्रमाणपत्र दिएर कारोबार गर्न पाउने व्यवस्था हुनुपर्ने नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलको धारणा छ ।
नेपालको पोल्ट्री व्यवसाय डामाडोल हुन लागेको पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । ‘दानाको मूल्य अचाक्ली बढेको छ । बैंकको ब्याज पनि बढेको छ तर तिनले लगानी थप्दैनन् । अन्डा बेचेर दाना खुवाउनै पुग्दैन । जग्गासमेत बिक्री हुन्न । अनि व्यवसाय कसरी बचाउने रु’ विष्टले भने । कुखुराको दाना नेपालमै उत्पादन भए पनि मकै, भटमासको पिना जस्ता मुख्य कच्चा पदार्थ भारतबाट आयात हुन्छ । ‘भारतमा सहुलियतमाथि सहुलियत छ । त्यस्तो ठाउँमा उत्पादन भएका तर त्यहाँ बिक्री नहुने कुखुरासँग हामीले प्रतिस्पर्धा गर्नुपरेको छ,’ पोल्ट्री महासंघका उपाध्यक्ष पोखरेलले भने ।
चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगीको संस्थाका पूर्वअध्यक्षसमेत रहेका पोखरेलका अनुसार ह्याचारीहरूले माउ चल्ला राख्न निकै कटौती गरेका छन् । नेपालमा मासुका लागि पालिने ब्रोइलर कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी ३४८ वटा थिए । अन्डाका लागि पालिने लेयर्स कुखुराका चल्ला उत्पादन गर्ने ह्याचरी १४ वटा थिए । लेयर्सका एकाध मात्रै ह्याचरी सञ्चालनमा छन् । ब्रोइलरका दुई सय ह्याचरी जनतन चलेको पोल्ट्री महासंघका उपाध्यक्ष पोखरेलको भनाइ छ । ‘कोरोनाअघि यहाँका ह्याचरीले प्रतिमहिना दुई लाख चल्ला थप्थे । कुखुरा बूढा हुँदै जाने भएका कारण नयाँ चल्ला थप्दै जानुपर्छ । अहिले ह्याचरीहरूले महिनामा मुस्किलले ६० हजार चल्ला मात्रै थप्ने गरेका छन् । पोल्ट्रीको अवस्था कति बिग्रँदै गयो, यसैबाट देखिन्छ,’ उनले भने ।
नेपालभर पोल्ट्रीमा एक खर्ब ५० अर्ब रुपैयाँ लगानी भएको महासंघका अध्यक्ष विष्ट बताउँछन् । यसमध्ये आधा रकम बैंकको लगानी भएको उनको भनाइ छ । ‘कृषि ऋणको रकम बैंकहरूले एकलौटी जस्तो कुखुरापालन क्षेत्रमा लगाए । कुखुरा पाल्नेसँग जग्गा पनि हुने, अलि प्रतिष्ठित व्यक्तिले यो काम गर्ने हुँदा रकम डुब्दैन भन्ने विश्वासले उनीहरूले कुखुरापालन क्षेत्रमा ऋण खन्याए,’ चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले भने । बर्डफ्लुलगायत रोगले कोरोनाअघि नै पोल्ट्री व्यवसाय घाटामा जान लागेको महासंघ उपाध्यक्ष टीका पोखरेलले बताए । ‘बर्डफ्लुलगायत रोगले सताइरहेको थियो । कोरोना पनि थपियो,’ उनले भने, ‘अहिले बैंकले पनि ऋण थप्न नसक्ने भए । ब्याज त बढेको बढ्यै छ । व्यवसाय टिकाउन अति मुस्किल छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशिछ छ ।