चितवन, २७ माघ । भरतपुर महानगरका मेयर रेनु दाहालले महानगरभित्र दीर्घकालिन महत्वका आयोजनाहरु कार्यान्वयनको चरणमा रहेको बताउनु भएको छ । १२ औँ नगरसभामा नीति तथा कार्यक्रम एव्म बजेट कार्यान्वयनको समीक्षा गर्दै उहाँले महानगरलाई देशकै नमुना महानगरमा रुपान्तरण गर्न थुप्रै विकास निर्माणले गति लिएको बताउनुभयो ।
उहाँका अनुसार पुस मसान्तसम्म महानगरभित्र थप २६ किमि सडक कालोपत्रे भएको छ । महानगरभित्र हालसम्म छ सय ४८ किमि सडक नयाँ कालोपत्रे बनिसकेको छ । छ महिनामा ४ दशमलव ५ किमि सडक मर्मत र १० किमि सडक ग्राबेल गरिएको छ । चार सय ३२ किमि सडक स्तरोन्नती अर्थात ग्राबेलिङ गरिएको छ ।
मेयर दाहालले पूर्वपश्चिम राजमार्गको नारायणी नदीमा सिग्नेचर ब्रीज निर्माणका लागि टेण्डर भैसकेको जानकारी दिनुभयो । नारायणी तटमा सि–बिच मोडेलको विकास गर्ने काम अगाडि बढेको बताउनुभयो । नारायणी नदी नियन्त्रण आयोजनाबाट १५ करोड ५० लाख, सघन सहरी विकास आयोजनाबाट दुइ करोड, पर्यटन विभागबाट ७ करोड सहित २४ करोड ५० लाख बराबरको काम भैरहेको बताउनुभयो ।
मेयर दाहालले नारायणी नदी आसापासका वस्तीलाई डुबान हुनबाट जोगाउन तटबन्धनको काम भैरहेको बताउनुभयो । नारायणी तटबन्धनको काम ५ खण्डमा २ अर्ब ५४ करोड ५० लाखको ठेक्का सम्झौता भएर काम अगाडि भएको जानकारी दिनुभयो । पुलचोकदेखि गोन्द्राङसम्म हरियाली सहितको ६ लेनको सडक फुटपाथ र सर्भिस ट्रयाक निर्माण भैरहेको बताउनुभयो । हुलाकी सडकको १९ किमि विस्तार, भरतपुर–मेघौली–गोलाघाट (सहायक राजमार्ग) खण्डको ८ किमि सडक निर्माणाधिन रहेको जानकारी दिनुभयो । यस्तै निर्माणाधिन सिटी हल आगामी आर्थिक वर्षमा सम्पन्ने हुने अवस्थामा पुगेको बताउनुभयो । भरतपुर महानगरको रिंगरोडको ८८ किमि मध्ये ४२ किमि सडक निर्माण सम्पन्न हुने चरणमा पुगेको बताउनुभयो ।
मेयर दाहालले आगामी वर्ष २०८० लाई ‘घुमौं भरतपुर’ अभियान चलाउने बताउनुभयो । महानगरको पर्यटन प्रवर्धनका लागि भरतपुर–पोखरा–लुम्बिनी गोल्डेन ट्रयाङगल टुरिजम् सर्किटको अवधारणालाई अगाडि बढाइएको बताउनुभयो । महानगर क्षेत्रको पर्यटन प्रवर्धन र विकास गर्न निजी क्षेत्रको समेत सहकार्यमा पर्यटकीय गन्तव्य पहिचान गरी ६ रात ७ दिनको टुर प्याकेज घोषणा गरिएको जानकारी दिनुभयो । भरतपुर महानगरपालिकाको १२ औँ नगर सभा पूरक बजेट र विभिन्न ऐनहरु अनुमोदन गर्दै सम्पन्न भएको छ । शुक्रबार बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा भएको नगर सभाले महानगरको विकासका कामलाई तीब्रता दिदै आर्थिक गतिविधिलाई चलयमान बनाउने गरी भएका निर्णयहरुलाई सर्वसम्मत अनुमोदन गरेको छ ।
