चितवन, २७ माघ । भरतपुर महानगरपालिकाले पुरक बजेट ल्याएको छ । १२ औँ नगरसभामा महानगरले २५ करोड ९५ लाख ४१ हजार बराबरको पूरक बजेट ल्याएको हो ।
उपमेयर चित्रसेन अधिकारीले पूरक बजेट प्रस्तुत गर्दै पूरक बजेट ल्याउँदा थप दायित्व सृजना नहुने बताउनुभयो । अख्तियारी रकम प्रयाप्त नभएमा वा कुनै सेवा वा क्षेत्रमा बढी खर्च गर्नुपरेमा स्थानीय तहले पूरक बजेट ल्याउन सक्ने व्यवस्था छ ।
थप २४ वटा नयाँ कार्यक्रम तथा शीर्षकहरुमा बजेट परेको हो । पशु विकास तथा दूध अनुदानमा एक करोड ९० लाख, विपन्न आर्थिक सहायता मृगौला डायलासिसका लागि एक करोड ५० लाख, परियोजना बैंक तयारीका लागि ९३ लाख ४१ हजार, समपुरक साझेदारी कोषमा ५ करोड, विशेष आकस्मिक कोषमा ३ करोड, वेपत्ता तथा घाइते परिवारको लागि २० लाख, विपन्न आर्थिक सहायतका लागि ५ लाख, भरतपुर आँखा अस्पताललाई एक करोड, वडास्तरीय पार्क वडा नम्बर १८ मा ३० लाख, एमआरसी सेण्टर स्थापनाका लागि ८ लाख बजेट छुट्टाइएको छ ।
यस्तै स्मार्ट सिटी माष्टर प्लान निर्माणका लागि एक करोड, मागमा आधरित सडक तथा अन्य पूर्वाधार निर्माणमा तीन करोड, मागमा आधरित ग्राबेलिङका लागि एक करोड, ह्युमपाइप खरिदका लागि ५० लाख बजेट छुट्टाएको छ । महानगरले चालु आर्थिक वर्षका लागि ५ अर्ब ८४ करोड ४२ लाख ५६ हजार बजेट प्रस्तुत गरेको थियो । पुस मसान्तसम्म चालु तर्फ ८८ करोड ६३ लाख १९ हजार र पूँजिगत तर्फ ५३ करोड ८३ लाख १७ हजार खर्च भएको जनाइएको छ ।
पूँजिगत तर्फ ३५ र चालु तर्फ १७ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले एक अर्ब ५० करोड राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पुस मसान्तसम्म ३४ करोड २९ हजार अर्थात २२ प्रतिशत मात्रै संकलन भएको छ । “स्रोत सुनिश्चत गरेर योजना समयमै सम्पन्न गर्न पूरक बजेट ल्याएका हौँ”, उपमेयर अधिकारीले भन्नुभयो, “समुन्नत र सुदृद्ध महानगर बनाउन सहयोग पुग्ने अपेक्षा छ ।” महानगरले पुरक बजेट ल्याएपछि अब महानगरको कुल बजेट ६ अर्ब १० करोड ३७ लाख ९७ हजार ४ सय रुपैयाँ पुग्नेछ ।