कोरियाको सीप नेपालमा लगानी

 

चितवन, १७ माघ । वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आउनु भएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल हुनु भएको छ । भरतपुर–५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँ आम्दानी छोडेर नेपाल फर्किएर उद्यमी बन्नु भएको हो ।
उहाले भरतपुर–५ को शान्ति चोकमा उरी मःम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगार प्रदान गर्दै आउनु भएको छ । “हाम्रो उद्योगबाट स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्ने गरेका छौँ” गिरीले भन्नुभयो, “२० लाख रुपैयाँबाट सुरु गरेको उद्योगमा अहिले करिब एक करोड रुपैयाँ लगानी पु¥याएको छु ।” कोरिया हुँदा उद्योगमा काम गर्ने क्रममा खाद्य उद्योगमा काम गरेको उल्लेख गर्दै गिरीले नेपालमा नै केही गर्ने उद्देश्यले पाँच वर्ष अघि स्वेदश फर्किएको बताउनुभयो ।
“लामो समय कोरिया बसेँ, त्यहीँको कार्ड बन्ने तयारी थियो” गिरीले भन्नुभयो, “परिवारबाट घर फर्किए हुन्थ्यो भन्ने इच्छा र मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो सफलता हात परेको छ ।” उहा सन् २०१८ मा नेपाल फर्किएर उद्योग सञ्चालन गर्ने तयारी गरेको बताउनुहुन्छ । सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि विस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थप्दै गएका छन् । “एक वर्ष अघि हामी श्रीमान्श्रीमती भएर उद्योग सञ्चालन ग¥यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो” गिरीले भन्नुभयो, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ ।” कोरियन प्रविधिको प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मःम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताउनुभयो ।
गिरीले उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउने गर्नुभएको छ । “मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ” गिरीले भन्नुभयो, “हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ ।” मःमको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्ने गरेको उल्लेख गर्नु भयो ।
दैनिक पाँच हजार पिलेट मःम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार पिलेट मःम मात्रै उत्पादन गरिरहेको जानकारी दिनुभयो । “अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन” उहाले भन्नुभयो, “चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पु¥याउँदै आएका छौँ ।” गिरी आफूमात्रै उद्यमी बनेर नबस्ने भन्दै विदेशीन तयार युवाहरुलाई स्वेदशमा नै राख्नका लागि आफूले विशेष योजना तयार पारेको बताउनुभयो ।
“सानो लगानीमा पनि युवाहरुलाई स्वरोजगार हुनका लागि म सहयोग गर्छु” गिरीले भन्नुभयो, “खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।” युवाहरुलाई आफूले उरी मःमको डिलरशीप दिएर नेपालमै उद्यमशील बन्न प्रेरिरत गर्ने भन्दै उहाले मःमको डिलरशीपसँगै तयारी मःमको लागि आवश्यक सम्पूर्ण सामान आफूले उपलब्ध गराइदिने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट