काठमाडौँ आएको विमान कोलकाता डाइभर्ट

काठमाडौँ, ७ माघ । शुक्रबार बिहान मलेसियाबाट काठमाडौँ आएको नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ को ‘ए ३२०’ न्यारोबडी जहाज भारतको कोलकाता ‘डाइभर्ट’ भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले सिमराको आकाशबाटै कोलकाता मोडिएको उक्त जहाज आरएनपी–एआर एप्रोच प्रणालीमा काठमाडौँमा अवतरण हुन सक्थ्यो तर विमानमा जडान भएका दुईवटा जीपीएस प्रणाली सिस्टममध्ये एउटा उपकरणमा समस्या आएपछि उक्त जहाज कोलकाता ‘डाइभर्ट’ भएको बताउनुभयो ।

आरएनपी–एआर एप्रोच प्रणालीमा आधारित रहेर एक हजार तीन सय मिटर भिजिबिलिटीमै अवतरण गर्न सकिने उक्त उडानमा संलग्न चालक दलले जीपीएसकै समस्याका कारण ननप्रिसिजन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच प्रणालीअनुसार अवतरण गर्न नसक्ने भएपछि सुरक्षित अवतरणका लागि जहाज डाइभर्ट भएको उहाँको भनाइ छ । उहाँले मौसमको खराबीले जहाज डाइभर्ट गर्दा नजिकको विमानस्थलमा अवतरण गरिने भए पनि भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँभन्दा कम भिजिबिलिटी भएपछि कोलकाता डाइभर्ट गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “भैरहवामा जडान गरिएका इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आईएलएस) उपकरण सञ्चालनमा नहुँदा न्यून भिजिबिलिटीमा अवतरण गर्न समस्या छ ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवामा उडान गर्न सामान्यतया एक हजार पाँच सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । हिउँदयाममा भैरहवाको भिजिबिलिटी पाँच सय मिटर तलसम्म झर्ने भएकाले विमानस्थलमा कम भिजिबिलिटीमा पनि उडान–अवतरण गर्न सकियोस् भनेर एक अर्ब रुपियाँको लागतमा क्याटोगरी–१ को आईएलएस जडान गरिएको छ । जडान भएको आईएलएसको रेडियो डेटा (फ्रिक्वेन्सी) भारतीय भू–भागमा परेपछि भारतसँग कूटनीतिक छलफलका माध्यमबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू कोलकाता डाइभर्ट हुने गरेका छन् ।

निगम स्रोतका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थलका रूपमा प्रयोग गर्न निगमले पूर्वस्वीकृति लिनुपर्ने भए पनि व्यवस्थापनको कमजोरीका कारण स्वीकृतिको प्रक्रियामा नजाँदा विमान डाइभर्ट भएको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले आरएनपी–एआर अप्रोच गर्न नसक्ने बताएपछि निगमका पाइलटले जहाज कोलकाता डाइभर्ट गरेको बताउनुभयो । उक्त समयमा काठमाडौँको भिजिबिलिटी एक हजार छ सय मिटर रहेको थियो । सामान्य अवस्थामा जहाज अवतरण गर्न दुई हजार दुई सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि दक्ष पाइलटले मात्रै ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच प्रणालीअनुसार अवतरण गर्न सकिने अवस्था रहने उहाँको भनाइ छ ।

बिहान १० बजे काठमाडौँ अवतरण गर्ने तालिका रहेको उक्त जहाज कोलकाता डाइभर्ट भएपछि दिउँसो ३ बजे मात्रै काठमाडौँमा अवतरण हुन सकेको थियो । उक्त उडानमा १४३ जना यात्रु थिए । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले काठमाडौँ र भैरहवाको कमजोर भिजिबिलिटी र पोखरा विमानस्थलमा भीएफआर (आँखाले हेरेर) मात्रै उडान सञ्चालनमा रहेकाले त्यहाँ जहाज अवतरण हुन नसकेको बताउनुभयो ।

शुक्रबार आन्तरिकतर्फको उडान नेपालगञ्जबाट काठमाडौँका लागि भरेको श्री एयरलाइन्सको विमान कम भिजिबिलिटीकै कारण भद्रपुर विमानस्थलमा अवतरण गरेको थियो । त्यस्तै भारतको मुम्बईबाट आएको भिस्तारा एयर पनि अवतरण हुनुअघि लामो समय होल्डिङमा परेको थियो ।

गोरखापत्र दैनिकबाट

ताजा अपडेट