तत्कालीन प्रमुखसहित प्रहरीका डीएसपी र इन्सपेक्टरलाई जेल सजाय

काठमाडौं ४ माघ । विशेष अदालतले यातायात कार्यालय एकान्तकुनाका तत्कालीन प्रमुखदेखि नेपाल प्रहरीका डीएसपी र इन्सपेक्टरलाई लाइसेन्स घोटाला प्रकरणमा जेल सजाय सुनाएको छ ।

सवारी चालक अनुमतिपत्रका लागि परीक्षामा फेल भएका १ हजार २ सय ८४ जनालाई पास गराएको अभियोग पुष्टि भएपछि तत्कालीन प्रमुखसहित सातजनालाई विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र खुसीप्रसाद थारूको इजलासले मुद्दा चलाइएका मध्ये सात जनालाई दोषी ठहर गरेको हो । दोषी ठहर हुनेहरूमा एकान्तकुनाका तत्कालीन प्रमुख आनन्दकेशरी पोखरेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवराज थापा, इन्सपेक्टर मुरारी मिश्र, अवकाश प्राप्त शाखा अधिकृत राममणि पोखरेल, अवकाश प्राप्त इन्जिनियर वासुदेव पोखरेल, शाखा अधिकृतहरू शम्भूप्रसाद थपलिया र ईश्वरराज रेग्मी रहेको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीले जानकारी दिए ।  राजस्व चुहावटर गरेर भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर भएका तत्कालीन कार्यालय प्रमुख पोखेरललाई आठ महिना कैद र ९ हजार जरिमानाको फैसला सुनाइएको छ । डीएसपी थापा र इन्सपेक्टर मिश्रलाई ६ महिना कैद र ८ हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । अवकाश भइसकेका इन्जिनियर पोखरेललाई पनि ६ महिना कैद र ८ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । शाखा अधिकृतहरू पोखरेल, थपलिया र रेग्मीलाई समान चार महिना कैद र ६ हजार रुपैयाँ जरिमानाको फैसला सुनाइएको छ । बाँकी ३१ जनाले भने सफाइ पाएका छन्् ।

अख्तियारले ८ मंसिर २०७६ मा तत्कालीन कार्यालय प्रमुख आनन्दकिशोरी पोखरेलसहित ३८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । कार्यालयले २०६९ वैशाख, जेठ र असारमा सञ्चालित प्रयोगात्मक परीक्षामा फेल भएका पास बनाएको आरोपमा मुद्दा दायर भएको हो । अख्तियारले ३८ जनाविरुद्ध १२ सय ८४ जनालाई रकम असुलेर पास गराएको अख्तियारले दाबी गरेको थियो ।

अख्तियारले मुद्दा चलाएकाहरूलाई सय रुपैयाँदेखि साढे ८ लाख रुपैयाँसम्म बिगो दाबी गरेको थियो । अख्तियारले आरोपी बनाएका ३१ जनाले सफाइ पाएका छन्् । त्यसरी सफाइ पाउनेहरूमा उपसचिवदेखि खरिदारसम्म छन्् । उपसचिवहरू धर्मराज ढुंगाना, बाबुलाल रेग्मीले सफाइ पाएका छन्् । ढुंगानाविरुद्ध ३ हजार २ सय र रेग्मीविरुद्ध ७ सय बिगो कायम गर्दै मुद्दा चलाइएको थियो ।

राजधानी दैनिक बाट

शेयर गरौ

ताजा अपडेट