चितवन २ माघ । पूर्वी चितवनमा आयोजना हुने खैरहनी महोत्वसको तयारी अन्तिम चरणमा पुगेको छ । चितवनको पहिचानसंगै स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले यस क्षेत्रको आर्थिक गतिविधिलाई वृद्धि गर्ने आयोजकले जानकारी दिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनीको लदरी खोला किनारमा हुने बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सवको तयारी पूरा हुन लागेको आयोजकले जानकारी दिएको छ ।
माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सव यस वर्ष दोस्रो संस्करणको महोत्सव हुन लागेको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । प्रदेशको उद्योग व्यापार क्षेत्रको विकास गरी देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताए ।
अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ खैरहनीका सदस्यहरुलाई स्टलमा १० प्रतिशत छुट भएको र स्टलको ९ हजार देखि ३० हजारसम्म शुल्क लिने बताए । महोत्सवमा विभिन्न क्षेत्रहरु उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३५० वटा स्टलहरु रहने उनले जानकारी दिए ।
करिब एक करोड बीस लाखको लगानीमा हुन लागेको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब ७० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीले जनाएको छ । महोत्सवमा बहुर्राष्ट्रिय, राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, महिला उद्यमीबाट उत्पादित सामग्रीहरु, बालउद्यान, सवारीसाधनलगायत प्रदर्शनी हुने संघले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।
महोत्सवले उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरुको समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने महोत्सवको लक्ष्य तथा उद्देश्य रहेको जनाइएको छ । महोत्सवले औद्योगिक पर्यटनलाई बढावा दिनुका साथै सूचना र प्रविधिको आदनप्रदान गर्दै कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने आयोजकको आशा छ ।
महोत्सव अवधिभर छलफल, अन्तरक्रिया, गोष्ठी तथा प्रतियोगितात्मक कार्यक्रमहरु, स्वास्थ्य तथा शौक्षिक कार्यक्रमहरुको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।