चितवन, १ माघ । सञ्चालनको तयारीमा रहेपनि विभिन्न कारणले चल्न नसकेको क्रुजसिप आज आइतबारदेखि नारायणी नदीमा चल्ने भएको छ ।
राइनो वाटर इन्टरटेनेमेन्ट प्रा.लि.ले एक विज्ञप्ती जारी गर्दै माघ १ गतेदेखि क्रुजशिप संचालनमा आउन लागेको जानकारी दिएको हो ।
करिव २ वर्ष पहिले नै क्रुजशिपको परीक्षण गरिएको थियो । कोभिड माहामारीका र केही नीतिगत व्यवधानका कारण क्रुजशिप संचालनमा आउन सकेको थिएन । अहिले सबै पक्रिया पुरा गरेर क्रुजशिप संचालनमा ल्याउन लागिएको कार्यकारी निर्देशक दीपक ढुंगेलले जानकारी दिनुभयो । आइतबार दिउँसो १ बजे विशेष क्रुजिङको समय रहेकाले यही समयलाई साइत मानेर सञ्चालन गर्ने बताउनुभयो । ३ तलाको क्रुजशिपमा १८० जना अट्ने छन् । यसको कुल क्षमता भने २०० रहेको छ ।
यसमा यात्रा गर्ने सबै यात्रुहरुको १० लाख रुपैयाँ बराबरको बिमा गरिएको छ । क्रुजशिपको टिकट दर रु.७०० रहेको छ । ब्रेकफास्ट क्रुजिङको १५००, लन्च क्रुजिङ २०००, डिनर क्रुजिङ २५०० रहेको छ ।
भरतपुर महानगरपालिकाको वडा नं. १६ मंगलपुर काभ्रेघाटबाट देवघाटसम्म सञ्चालनमा आउने भनेपनि अहिले पानीको सहत कम भएकाले त्तकाल छोटो दुरीमा सञ्चालनमा आउने जनाएको छ । नदीले पानीको धार परिवर्तन गरेकाले छोटो दुरीमा मात्र सञ्चालनमा आउने भएको हो । सिपमा विवाह, पार्टी, कुनै कार्यक्रम गर्न मिल्ने गरी स्थान निर्माण गरिएको छ । जलपर्यटनलाई यस सिपले नयाँ टेवा पुग्ने राइनो वाटर इन्टरटेनेमेन्ट प्रा.लि.ले जनाएको छ । नारायणगढको पुलचोकबाट करिब ९ किलोमिटर दक्षिणमा रहेको काभ्रेघाटमा सिपको स्टेशन रहेको छ ।