चितवन, २८ पुस । कोरियाबाट नेपाल ल्याइएका उन्नत नश्लको धेरै दुधदिने गाईको बाच्छी चितवन आइपुगेको छ ।
दुधमा आत्मनिर्भर बनाउनको लागि नेपाल सरकारले कोरियाबाट उन्नत जातको गाईका बाच्छी ल्याएको थियो । नेपाल ल्याएको १०१ वटा गाइका बाच्छी मध्य चारवटा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा यसै हप्ता आएको छ । एक वेत (तीनसय दिन)मा नौदेखि दश हजार लिटर दुध दिने गाईका बाच्छीलाई वातावरण अनुसारको स्याहारसुसार गरेर अर्को उत्पादन गर्ने तयारी रहेको राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख सागर पौडेलले जानकारी दिनुभयो ।
उहाले भन्नुभयो ‘यसै हप्ता यहाँ आइपुगेका छन्, ती बाच्छीलाई हुर्काएर इआइए गरी त्यसबाट सन्तान उत्पादन गराउनेछौ ।’ अबको एक वर्षमा इआइए गर्नको लागि उपयुक्त हुन्छ । त्यसपछि ती बाच्छीबाट बहर जन्मे भने पोखरामा पठाउने छौ । बाच्छीनै जन्मेमा यही राखेर थप अनुसन्धान गरी अर्को उत्पादन गर्नेछौ । रामपुरमा हामीले अनुसन्धानको लागि राख्ने, त्यसको वृद्धि विकासमा आएका समस्या प्रगती र उनीहरुलाई पाल्दा लाग्ने खर्चको समेत हामीले अध्ययन गर्दछौ ।
‘यहाँबाट अध्ययन गरेर उत्पादन भएका बहरलाई पोखरामा दिने छौ’ उहाले भन्नुभयो ‘पोखराको कार्यालयले किसानको घरमा पठाउनेछ । हामीले अध्ययन गर्ने हो किसानमा वितरण गर्ने काम पोखराको कार्यालयले गर्नेछ ।’ नेपालको लागि यो उन्नत जातको गाई लाभदायक हुन्छ उहाले भन्नुभयो ‘कोरिया, क्यानडा, जापान, अमेरिकालगायतका देशमा यही जातका गाई पाल्ने गरिएको छ । यस्तो गाईले एक दिनमा ३० लिटरसम्म दुध दिने गर्दछ ।’ किसानको घरमा यो गाई पाल्ने अवस्था आएमा दुधको उत्पादन वृद्धि हुने उहाले बताउनुभयो ।
अहिले नेपालको वातावरणमा रहन सक्ने नसक्ने, उसलाई कुन अनुपातमा दानापानी खुवाउने, दुध दिदा अपनाउनु पर्ने सावधानीलगायतका विषयमा अध्ययन गरेर त्यही अनुसार हामीले सिफारिस गर्ने छौ उहाले भन्नुभयो । रामपुर ल्याएको चारवटा गाइका बाच्छीलाई अलग्गै राखेर उनीहरु माथि अनुसन्धान गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो । नेपाल आएका मध्य चितवनमा चारवटा, पोखरामा नौ वटा, खुमरटारमा तीन वटा, जिरीमा चारवटा राखिएको छ । अन्य गाईका बाच्छी किसानलाई दिएको छ ।
हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल दक्षिण कोरियाको व्यवस्थापनमा २० वटा उच्च प्रचजनन्का साढे, एकसय वटा बाच्छी, कृतिम गर्भाधानको लागि पाँचहजार डोज विर्य आएको थियो । यी मध्य ढुवानीमा समस्या भएपछि साढे अहिले नेपाल आएको छैन । यसलाई ल्याउने तयारी भइराखेको छ । गाईका बाच्छी र कृतिम गर्भाधानको लागि विर्य भने आइ सकेको छ ।
राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा कोरियाबाट आएका गाइ बाहेक यहाँ २०५ वटा गाई तथा बाच्छाबाच्छीहरु रहेका छन् । ती गाई तथा बाच्छीको अनुसन्धानमा नेक कोलार सिस्टम (गाईको घाँटीमा बाँधिने सेन्सर माला) बाट गरिदै आएको छ । नेक कोलार सिस्टमबाट गाई विरामी भए नभएको, वहर लाग्ने वेला भए नभएको, गाईको तापक्रम वृद्धि भए नभएको सवै हेर्दै आएको छ ।