चितवन महोत्सवको १४ औं सस्करण आजबाट

केशव पौडेल
चितवन २५ पुस । चितवनको गौरवमय प्रस्तुतीका रुपमा रहेको चितवन महोत्सवको १४ औं सस्करण आजबाट सुरु भएको छ ।
उद्योग वाणिज्य संघ चितवनको आयोजनामा नारायणनी नदी किनारमा महोत्सव सम्पन्न हुदैछ । महोत्सवको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । जनाएको छ ।

महोत्सवले चितवनको उत्पादन र व्यापार प्रवद्र्धन गर्न सहयोग मिल्ने महोत्सव मूल आयोजक समिति संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बताउनुभयो । माघ ४ गतेसम्म चल्ने महोत्सव व्यवस्थित रहने जनाइएको छ ।

विसं २०५३ देखि हरेक दुई वर्षमा महोत्सव हुँदै आइरहेको छ । महोत्सवमा रहने सम्पूर्ण स्टल बिक्री भइसकेको श्रेष्ठले जानकारी दिनुभयो । यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आईटीका छुट्टैछुट्टै परिसर रहने छ । विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवद्र्धन गर्नेगरी तोरीबारी सहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष रहेका छन् । नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवद्र्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको छ । दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको वेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यान राखिएका छन् ।

शेयर गरौ

ताजा अपडेट