काठमाडौं ६ पुस । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदै छ ।
दलको नेता चुन्न आज बुधबार मतदान हुँदै छ । कांग्रेसभित्र दलको नेताको यो निर्वाचनसँगै पुराना समूहमा ‘विद्रोह’समेत भएको छ ।
कांग्रेस संस्थापन समूहबाट सभापति देउवा र संस्थापनइतर समूहबाट महामन्त्री थापा एक्ला उम्मेदवार बनेका छन् । इतर समूहबाट १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा। शेखर कोइरालाले ‘दलको नेतामा प्रस्ताव गरे’सँगै थापा सो समूहबाट सर्वसम्मत उम्मेदवार बनेका हुन् ।
महामन्त्री थापालाई दलको नेतामा अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि साथ दिएका छन् । उनी १४औं महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीको उम्मेदवार बन्दै निर्वाचित बनेका थिए । सिंह भने देउवासँगै छन् ।
शर्माले थापालाई दलको नेतामा सघाएसँगै सिंह समूहमा ‘विद्रोह’ भएको छ । शर्मा थापालाई दलको नेता बनाउन समर्थक नै बसेका छन् ।
यसैगरी, १४औं महाधिवेशनमा नेता कृष्णप्रसाद सिटौलाको साथ पाएर देउवा समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका प्रदीप पौडेलले पनि ‘टिम’ विद्रोह गर्दै थापाकै पक्षमा खुलेका छन् । मंगलबार महामन्त्री शर्मा र नेता पौडेल थापाको दलको नेताको उम्मेदवारी घोषणामा पुगेका थिए ।
शर्मा र पौडेल थापाको पक्षमा खुलेसँगै कांग्रेसको आन्तरिक समीकरण नै फेरबदल हुने अवस्था आएको छ । अबका केही दिनमा कांग्रेसभित्र नयाँ समीकरणले सभापति देउवालाई थप दबाब दिने अवस्था देखिएको छ ।
देउवाको रामचन्द्र र गगनको शेखर प्रस्तावक
नेपाली कांग्रेस संसदीय दल निर्वाचनका लागि सभापति शेरबहादुर देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलले दलको नेता प्रस्ताव गर्दै उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार भएको उम्मेदवारी दर्तामा दलको नेताका लागि पौडेल देउवाको प्रस्तावक बसेका हुन् । उनी आफैं दलको नेताको दौडमा थिए । तर, उम्मेदवारी दर्ता क्रममा उनले देउवालाई नै समर्थन गरेका छन् । कांग्रेस १४औं महाधिवेशनमा पौडेल ‘मौन’ बसेका थिए । अन्ततः उनी देउवातिरै खुलेका हुन् ।
पौडेलसँगै पूर्वउपसभापति विमलेन्द्र निधि पूर्वमहामन्त्री प्रकामान सिंह र डा। शशांक कोइरालाले पनि देउवालाई नै सघाउने देखिएको छ ।
१४औं महाधिवेशनमा निधि र सिंह ‘देउवाको विकल्प खोज्न’ भन्दै आफैं सभापतिको उम्मेदवार बनेका थिए । तर, पहिलो चरणमा निर्वाचन नतिजा नआएपछि दोस्रो चरणमा निधि र सिंहले देउवालाई नै सभापतिमा सघाएका थिए । त्यसबखत शशांक र पौडेल भने मौन थिए ।
अहिले दलको नेताका लागि संस्थापन समूहबाटै उपसभापति बनेका पूर्णबहादुर खड्काले देउवालाई समर्थन गरेका छन् ।
उता, इतर समूहबाट दलको नेतामा उठेका महामन्त्री गगन थापाको प्रस्तावक डा। शेखर कोइराला छन् भने समर्थकमा महामन्त्री विश्वप्रकाश शर्मा र उपसभापति धनराज गुरुङ छन् ।
दलको नेताका लागि हुने निर्वाचन प्रक्रियाका लागि देउवा र थापा दुवैले मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार आज बुधबार बिहान ८ देखि १० बजेसम्म संसदीय दलको नेता चयनका लागि मतदान हुनेछ ।
ऐतिहासिक निर्णय लिन आग्रह
कांग्रेस महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेताका लागि दिएको उम्मेदवारी फिर्ता लिएर ‘ऐतिहासिक निर्णय’ लिन आग्रह गरेका छन् ।
मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर दलको नेताका लागि उम्मेदवारी दर्ता गराएपछि थापाले देउवालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । ‘देउवाले उम्मेदवारी फिर्ता लिनेमा आफू विश्वस्त रहेको’ भन्दै उनले ‘देउवाको उम्मेदवारी फिर्ता निर्णयले सबैमा खुसी र उत्साह हुने’ बताए ।
महामन्त्री थापाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पनि संसदीय दलको नेताको चुनाव ‘कांग्रेसको भविष्य र अपेक्षासँग जोडिएकाले कांग्रेसको भविष्यप्रति चिन्ता गर्न’ आग्रह गर्दै सघाउन अनुरोध गरे । राजधानी दैनिकबाट