भारतबाट प्रतिलिटर पेट्रोलमा सात रुपिया, डिजेलमा १२ रुपियाँ घटेर आयो : अब नेपालले मुल्य घटाउला ?

काठमाडौँ १ पुस । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको भाउ घटाएर नयाँ सूची पठाएको छ । आईओसीले आज पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको हो ।

यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाउने तयारी रहेको निगम स्रोतले जानकारी दिएको छ । ‘बोर्ड अध्यक्ष (वाणिज्य तथा आपूर्ति सचिव) देश बाहिर हुनुहुन्छ, उहाँ फर्किए लगत्तै बोर्ड बैठक बसेर केही न केही मूल्य समायोजन गर्नेछौं’ स्रोत भन्छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले मूल्य घटाएर पठाएको हो ।

नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ । निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ भने सरकारलाई बुझाउनु पर्ने ऋण रकम ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा निगमको बक्यौता तथा ऋण रकम थपिएको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ओरालो लागेको छ । शुक्रबार साढे ३ बजेसम्म अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८०.३ डलरमा झरेको छ । त्यस्तै मुर्बान तेलको प्रतिब्यारेल ७९.२, डब्लूटीआई तेलको मूल्य ७५.१ डलरमा झरेको छ । डेढ महिनामा समग्रमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारीमा घटेको छ ।

तेल उत्पादक मुलुकहरुको संगठन ओपेक प्लसले नोभेम्बर महिनामा कटौती गरेको परिमाणलाई हाल निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । जसले गर्दा चीन र भारतले रसियन तेलको आपूर्ति बढाएका छन् । रसियाले युक्रेनमा आक्रमण गरेपछि युरोपियन मुलुकहरुले रुसको राजस्व आम्दानी घटाउन तथा आपूर्ति अवरोधका लागि विभिन्न प्रयास गरिरहेका छन् ।

शेयर गरौ

ताजा अपडेट