चितवन १ पुस । विवाह भोज खाएर विरामी भएपछि अनुसन्धान गर्दा दोषी देखिकाले चितवनको भरतपुर स्थित चितवन गार्डेन रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न सिफारिस गरिएको छ ।
होटलले खुवाएको खानामा दिसामा पाइने व्याक्टेरिया देखिएको, भान्छाकोठामा फोहोर भेटिएको, स्टोर गरेर राख्ने सामग्रीलाई उचित व्यवस्थापन नगरेको पाइएपछि सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माको नेतृत्वले तयार पारेको प्रतिवेदनमा होटललाई कार्वाही गर्न सिफारिस गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी शर्माको नेतृत्वमा अनुगमन समितिले प्रतिवेदन तयार पारी रिसोर्टलाई तीन लाख रुपैयाँ जरिवाना गर्न पमुख जिल्ला अधिकारी आस्मान तामाङलाई सिफारिस गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारीले भन्नुभयो हामीले अनुगमन गर्दापनि त्यहाँ फोहोर देखेका थियौ, भोज खाएर विरामी भइ उपचार भइराखेको विरामीको परीक्षण गर्दा चारजनामा मानिसको दिसामा पाइने व्याक्टेरिया भेटिएको थियो । प्रयोगशालाको विवरणमा नै त्यस्तो देखिएपछि हामीले जरिवाना सहित कार्वही गर्न सिफारिस गरेका हौ उहाले भन्नुभयो । जरिवाना गराएर सरसफाइका लागि सात दिन म्याद दिने समेत सिफारिस गरेको उहाले जानकारी दिनुभयो ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) क अनुसार होटलले अनुचित व्यापारिक तथा व्यवसाय जन्य क्रियाकलाप गरी गुणस्तरहिन खाद्य बस्तु उत्पादन गरी सेवा प्रवाह गरेकोले सोही ऐनको दफा ३९ (१) ख अनुसार तीन लाख रुपैयाँ जरिवानाको सिफारिस गरिएको प्रतिवेदनमा उल्लेख छ ।
होटल उपभोग्य मिति सकिएको अखाद्य बस्तु भेटिएको, ढोका तथा झ्यालमा जाली नभएको, भान्सामा झिँगा पाईएको, कामदारको सरसफाई सन्तोषजनक नभएको, भान्सा र भाँडा माझ्ने ठाउँ सँगै भएको, होटलको अनिवार्य अभिलेख नभएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिवेदन ३ गते आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई पेश गर्ने सहायक प्रजिअ शर्माले बताउनुभयो । होटलमा मङ्सिर २३ र २४ गते विवाह भोज खाएका पाँचसय जना विरामी भएका थिए । नवलपुरको गैंडाकोट नगरपालिकाबाट भरतपुर विवाहका लागि आएका दुर्व पक्षका आफन्तले भोज खाएका थिए । दुलही र दुलहा दुवै पक्षका गरी पाँचसय जना विरामी भएका थिए । उनीहरुको भरतपुरको विभिन्न अस्पतालमा उपचार भएको थियो ।


