अनियमितता पुष्टी गर्न उपमेयर शाहलाई मेयर दाहालको चुनौती,‘भतिजीलाई भर्ती गर्न नपाएको झोकमा बबण्डर मच्चाउने ?’

चितवन समाचार डटकम, १५ फागुन ।
भरतपुर महानगरपालिकामा उपप्रमुख पार्वती शाहले प्रमुख रेनु दाहाललाई दाेषाराेपण गर्दै सार्वजनिक रुपमा उत्रन थालेपछि तनावको अवस्था सिर्जना भएको छ ।

प्रमुख र उपप्रमुखले छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफ्ना भनाइहरु सार्वजनिक गरेका छन् । विगत केही हप्तादेखि दुइ जनाबिच एउटै टेवलमा वसेर समस्या समाधानको प्रयास नहुदा सञ्चारमा माध्यममा महानगरको विषय छताछुल्ल भएको छ ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाह ठकुरीले दुइ पटक पत्रकार सम्मेलन गरेर प्रमुख माथि आरोप लगाएपछि प्रमुख रेनु दाहालले आज पत्रकार सम्मेलन आरोप प्रमाणीत गर्न चुनौती दिनु भएको छ ।

कार्यालयमा महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख रेनु दाहालले उपप्रमुखले मिथ्या आरोप लगाएर चरित्र हत्या गर्ने प्रयास गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘म र महानगरपालिकाको कर्मचारी माथि नभएका झुठा विवरण सार्वजनिक गर्दै वदनाम गर्दै हिड्नु भएको छ ।’ तथ्यहिन विषयलाई मिडियावाजी गर्दै चितवनदेखि काठमाण्डौसम्म पुगेर पत्रकार सम्मेलन गरी झुटा विषय उचालेको बताउनु भयो ।

महानगरपालिकाको विकास समृद्धिमा असर पार्ने तरिकाले कपोकल्पित विषय उठाएर हिड्नु भएको बताउनु भयो । आफ्ना प्रशासकीय प्रमुखले नटेरेको भन्दै विषय उठान गर्नु भएको उपप्रमुखले पछि मेयरले अनियमितता गर्नु भयो भन्दै अफवाह फैलाउन खोजेको दाहालले बताउनु भयो ।व्यक्तिगत कुण्ठा पालेर महानगरको विकासमा उहाले असहयोग गर्नु भएको भन्ने शंका लागेको दाहालको भनाइ छ ।

महानगरपालिकाले गरेको अनियमितता, भ्रष्टाचार, आर्थिक हिनामिना वा कुनै पनि विषयमा कमजोरी भएको भए प्रमाणसहित आएमा आफूले सजाय भोग्न तयार भएको दाहालले चुनौती दिनु भयो ।

व्यक्तिगत स्वार्थलाई लिएर प्रचारवाजी गरेको भन्दै आपत्ती जनाउनु भयो । कार्यक्रममा उहाले उपप्रमुखले आफ्ना नातागोताका व्यक्तिलाई जागीर लगाउन नपाएको रिसमा यो सवै क्रियाकलाप गरेको उहाले बताउनु भयो ।

दाहालले भन्नु भयो ‘भतिजीलाई जागिर दिन दवाव दिनु भयो, बहिनी कार्यालय सहयोगी नियुक्त गर्नु भयो, ज्वाई ड्राइभर, भतिजा स्वकीय सचिव, वहिनीको छोरीलाई नियुक्ती दिनु प¥यो भन्ने विषय थियो ।’ यस विषयमा कुरा नमिलेपछि उहाले गलत प्रचार गर्दै हिड्नु भयो पत्रकार सम्मेलनमा दहालले भन्नु भयो, ‘भतिजी लाई भर्ती गर्न नपाएको झोकमा बबण्डर मच्चाउने ?’ ।

उपप्रमुख पार्वती शाह कठुरीले भरतपुर र काठमाण्डौमा पत्रकार सम्मेलन गरी महानगरमा अर्थिक अनियमिता भएको, काम राम्रोसंग नभएको, प्रशासकीय प्रमुखले नटेरेको, विकास नभएको, समितिहरु पूर्ण नभएको, आफूलाई वेवास्ता गरेको जस्ता आरोप छ ।

ताजा अपडेट