वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन उमेदवारलाई मतदाताको माग

 

चितवन, २७ कात्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका उमेदवारलाई पश्चिम चितवनवासीका मतदाताले वन्यजन्तुको आक्रमण रोक्ने स्थायी योजना ल्याउन अनुरोध गरेका छन् ।
घरदैलोका क्रममा घरघर पुगेको उमेदवारलाई निकुञ्ज आसपासका स्थानीयले वन्यजन्तुको त्रासले जीवन विताउनु परेको भन्दै आउदा दिनमा जनताको जीउधनको सुरक्षाको लागि गम्भिर हुन अनुरोध गरेका हुन् । चुनावी प्रचारका लागि घरदैलोमा पुगेको उमेदवारले जनताको हरेक मागलाई सम्वोधन गर्ने प्रतिवद्धता गरिरहेका छन् । तर निकुञ्ज आसपासका स्थानीयले भने ठुलो आश्वासन होइन हामीलाई जनावरको आक्रमण रोक्ने स्थायी समाधान भए पुग्ने बताउदै आएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र जगतपुरमा स्थानीय राममान लामाले भन्नुभयो, ‘बाघ गैंडाको आक्रमणले मर्नु परेको यो समाधान कहिले हुन्छ ? बँदेलले खेती खायो, गैँडा, हात्तीले हैरान बनायो, पर्खाल निर्माण गरिदिनुहोला ।’ उहाले भन्नुभयो ‘हरेक वर्ष बाघको आक्रमणले गाउमा मानिस मरिरहेका छन् यसको समाधान तपाइले गर्नुप¥यो, नारायणी नदीले कटान गर्दा वस्ती जोखिममा परेको छ यसको समाधान कहिले हुन्छ ? ’
पश्चिम चितवनको ध्रुवघाटका स्थानीय पुनम मगरले निकुञ्जमा पक्की तारबार लगाउने कामलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो । गुनासो तपाईहरुलाई नै गर्ने हो, उहाँले भन्नुभयो, जनतालाई अलि ध्यान दिन प¥यो । राजनीतिक भाषण हामीलाइ चाहिदैन हाम्रा गाउका समस्या समाधान गर्ने नेता चाहिन्छ । निर्वाचनमा आश्वासन पाएको तर काम भएको छैन त्यसैले विश्वास र आशा पनि कम लागेको छ । यसअघिका निर्वाचनमा पनि भोट माग्न आउनेले विभिन्न आश्वासन दिनुभएको थियो तर पाँच वर्षमा पनि कार्यान्वयन भएन, उहाँले भन्नुभयो ।
गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका डा भोजराज अधिकारीले जनताको आवश्यकता अनुसारकै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । चितवनमा निकुञ्ज र सामुदायिक वन क्षेत्रबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको भन्दै त्यसको दीर्घकालीन समाधानका लागि निर्वाचित भएपछि काम गर्ने बाचा गर्नुभयो ।
मेघौलीमा घरदैलोका क्रममा स्वतन्त्र उम्मेदवारी दिनुभएका दिनेश कोइरालालाई पनि स्थानीयले वन्यजन्तुबाट हुने धनजनको क्षति कम गर्न के गर्न सक्नुहुन्छ भनेर प्रश्न गरेका छन् । जवाफमा कोइरालाले आफ्नो निर्वाचन क्षेत्रका सबै ठाउँमा पक्की वालसहितको तारबार लगाउने बताउनुभयो । घरदैलोका क्रममा माडी पुग्दा त्यहाका स्थानीय प्रभुकुमार चौधरीले माडीको धोवाहामा वन्यजन्तुले हरेक वर्ष बाली खाने गरेको स्थानीय राकेश चौधरीले कोइरालालाई गुनासो गर्नुभयो ।
चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने वन्यजन्तुले सबैभन्दा बढी धनजनको क्षति माडीभित्र नै गर्ने गरेको छ । निकुञ्जले घेरेको माडीका मतदाताको उम्मेदवारसँग पहिलो अपेक्षा नै वन्यजन्तुको त्रासबाट मुक्त हुन पाउँ भन्ने छ । चितवनको माडी वडा नम्बर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको गुनासो स्थानीयवासीको छ ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवार विक्रम पाण्डेलाई घरदैलोका क्रममा स्थानीयले ठुला विकासका कार्यक्रम भन्दा जनताको प्रत्यक्ष जीवनका जोडिएका साना कुरालाई प्राथमिकता दिन अनुरोध गर्नुभयो । स्थानीय सुनिता भुसालले काट्ने तयारीमा रहेको धान गैँडाले नष्ट गरिदिएपछि यस वर्ष के खाने भन्ने चिन्ता थपिएको बताउनुभयो । उहाँँले बर्सेनी निकुञ्जबाट आउने वन्यजन्तुका कारण बाली पूरै भित्रायउन नपाइने गरेको गुनासो गर्नुभयो । पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डेले वन्यजन्तुको समस्या समाधान गर्ने योजनामा रहेको सुनाउनुभयो । यसरी घरदैलोका क्रममा मत माग्न आउने सबै उम्मेदवारलाई यस क्षेत्रका बासिन्दाले वन्यजन्तुको त्रास कहिलेसम्म भोग्नुपर्ने हो भनेर प्रश्न गरेका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गगानाले मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि उम्मेदवारले निर्वाचित भएपछि पहिलो प्रथमिकतामा राखेर काम गर्नको लागि आफ्नो भूमिका रहने बताउनुभयो । सबै मध्यवर्ती क्षेत्रमा पक्की वालसहितको तारबार लगाउने क्रममा रहेकाल एकै पटक सम्भव नहुने जानकारी दिनुभयो ।
निकुञ्जले प्रदान गर्ने क्षतिपूर्ति पनि कम र झन्झटिलो रहेको भन्दै मध्यवर्तीका नागरिकलाई जीविकोपार्जन र आयआर्जनका कार्यक्रममा सहभागी गराउनु पर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । मत माग्न गाउटोल पुगेका उमेदवारहरुले जनताको आवश्यकताको विषयमा महसुस गरेकाले आउदा दिनमा इच्छाशक्ति भए काम गर्न सक्ने मतदाताले बताएका छन् ।

शेयर गरौ

ताजा अपडेट