हेमराज रिमाल
चितवन समाचारडटकम ,१४ फागुन ।
कुनै जमाना थियो, घरगाँउमा झोलांमा चिठी बोकेर हुलाकी आउथें । तर, प्रविधिको द्रुततर विकासले खबर आदानप्रदान गर्न चिठी पठाउने चलन बिस्थापीत जस्तै भैसकेको छ । गाँउ गाँउमा हुलाक कार्यालयहरु थिए, अहिले चितवन जिल्लामा १३ अाेटा ईलाका र २५ अाेटा अतिरिक्त कार्यालाय रहेकाे छ । सदरमुकाममा जिल्ला कार्यालय भने यथावत छ । ब्यक्तीका चिठी आदानप्रदान हुनछाडेपनि डाँकसेवा, पार्शल जस्ता काममा अहिले जिल्ला हुलाक कार्यालयले काम गर्ने गरेको छ । भरतपुरमा रहेको चितवन जिल्ला हुलाक कार्यालयले डाँक एवम् पार्शल सेवा र सञ्चार मन्त्रालयको फोकल कार्यालयको सेवा दिइरहेको जनाएको छ ।
जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख नेत्रबिलास पन्तले भरतपुरमा रहेको डाँक सेवा केन्द्रीय स्तरको रहेको जानकारी दिनुभयो । डाकसेवा अन्तरगत यहाँवाट पूर्वतर्फ हेटौंडा, सिमरा, चन्द्रनिगाहपुर, लालबन्दी, बर्दिबास, ढल्केवर, मिर्चैया, ईनरुवा, लाहान, ईटहरी, मोरङ्ग र बिर्तामोड सम्मको सेवा दिने गरिएको छ ।
पश्चिम तर्फ कञ्चनपुर, महेन्द्रनगर, अत्तरिया, भुरीगाँउ, कोहलपुर, लमही, गोरुसिंगे, बुटवल, सुनवल सम्मको सेवा दिने गरिएको कार्यालय प्रमुख पन्तले जानकारी दिनुभयो ।
त्यसैगरी बैदेशीक पार्शल पनि हुनेगरेको छ । कागाजात, सर–सामान पार्शलमा आउने र पठाउने गरेको पाईन्छ । चितवनमा महिनामा औषत तीन हजारको संख्यामा पार्शलको काम हुने गरेको कार्यालयका सुचना अधिकारी थानेश्वर सापकोटाले बताउनुभयो । ‘झट्ट बाहिरबाट देख्दा हुलाक कार्यालयले चिठीको काम नभएपछि के नै गरेको छ र ? जस्तो कतिपयमा बुझाई छ’, पार्शलका सरसामान देखाँउदैं सापकोटाले भन्नुभयो,‘हामीलाई भ्याईनभ्याई छ ।’
पछिल्लो तीन महिनामा बैदेशिक पार्शल र दु्रत डाँक सेवा बापत एक लाख ७९ हजार एकसय ८५ रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।
यसैगरी जिल्ला हुलाक कार्यलय चितवनले पाँचसय वाट सम्मको एफएम रेडियो नविकरण, राजस्व संकलन, रोयल्टी असुल गर्ने गरेको छ । लोककल्याणकारी बिज्ञापन पनि वितरण गरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार एउटा टेलिभिजन र १३ वटा एफ एम रेडियोलाई बिज्ञापन उपलब्ध गराइएको छ ।
त्यस्तै अन्य सरकारी कार्यालयहरुमा सुचना अधिकारी तोक्न लगाउने र सुचनाप्रवाह भए नभएको नियमन गर्ने गरिएको कार्यालय प्रमुख पन्तले बताउनुभयो । यसै प्रयोजनका लागी हरेक महिनाको ४ गते जिल्लाका सबै सरकारी कार्यालयका सुचना अधिकारीहरुको बैठक गर्ने गरिएको उहाँले जानकारी दिनुभयो ।