दुइ महिना बन्द भएको तातोपानी नाका खुल्यो

 

सिन्धुपाल्चोक ३१ भदौ । चीनको स्वशासित क्षेत्र तिब्बतमा गरिएको लकडाउनका कारण बन्द रसुवागढी र तातोपानी नाका खुलेका छन् । तातोपानीमा रोकिएका कन्टेनर शनिबारदेखि र केरुङमा रोकिएका कन्टेनर बिहीबारदेखि नेपाल भित्रिन थालेका हुन् ।

तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेपछि चीनले गत साउन २२ देखि रसुवागढी नाकाबाट हुने निर्यातमा रोक लगाएको थियो । नाका ठप्प हुँदा दसैं र तिहारका लागि आयात गरिएका करोडौं मूल्यका सामान केरुङमै रोकिएका थिए । बिहीबार बिहान ‘चाइना–नेपाल बोर्डर न्यु मोडालिटी’ र अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड पालना भए–नभएको सम्बन्धमा चिनियाँ पक्षले रसुवागढी नाकाको अवलोकन गरेको थियो । त्यसपछि ७ वटा कन्टेनर नेपाल भित्रिएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद मैनालीले बताए । उनका अनुसार ती कन्टेनर चिनियाँ पक्षले नेपाली भूभागसम्मै ल्याइदिएका हुन् । ती कन्टेनरमा रेडिमेड सामान छन् ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले केरुङमा रोकिएका कन्टेनर आउन सुरु गरेको र चिनियाँ पक्षले चौबिसै घण्टा सामान पठाउन तयार रहेको जानकारी दिएको बताए । नाका बन्द हुँदा दसैं–तिहार र जाडोयामलाई लक्षित गरी आयात गरिएको सामान केरुङमै रोकिएको व्यापारी धर्म पौडेलले बताए । ‘केरुङमा ५० वटा चिनियाँ कन्टेनरमा नेपाल ल्याउने सामान लोड गरेर राखिएको छ,’ उनले भने, ‘ती कन्टेनरमा दसैं–तिहार र जाडोमा लगाउने सामान छन् ।’ सामान लोड गरिएका २ सय ५० वटा नेपाली कन्टेनर सिगात्से, केरुङ, न्यालम, ल्हासामै थन्किएको उनले बताए । ती सबै कन्टेनर आगामी सेप्टेम्बर २७ सम्ममा नेपाल पठाइसक्ने जानकारी चिनियाँ पक्षले दिएको भन्सार प्रमुख मैनालीले बताए ।

दसैं–तिहारमा चिनियाँ तयारी पोसाकको माग नेपाली बजारमा बढी हुन्छ । चाडबाडको मुखैमा नाका बन्द भएर आयात रोकिँदा व्यवसायी मर्कामा परेका छन् । चाडबाडको सामान समयमै काठमाडौं पुर्‍याउन नसकिए व्यापारीहरूले व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने हिमालय सीमापार व्यापार संघका निवर्तमान उपाध्यक्ष मीनबहादुर श्रेष्ठले बताए । अब सामान आयात हुन थालेपछि बजारमा अभाव हुने, महँगी बढ्नेलगायत समस्या कम हुने उनको भनाइ छ ।
कान्तिपुर दैनिकबाट

शेयर गरौ

ताजा अपडेट