चितवन, २८ साउन । प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले औद्योगिक क्षेत्रको विकासले मात्रै देश समृद्धि हुने बताउनु भएको छ ।
चितवनको कालिका नगरपालिकाले शनिबार खोलेसिमलमा आयोजित औद्योगिक क्षेत्र स्थापना तथा शक्तिखोर– मझिमटार सुरुङमार्ग निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाले उद्योग स्थापना अपरिहार्य भएकोमा जोड दिनुभयो ।
उहाले भन्नुभयो ‘उद्योग कलकारखाना स्थापना पश्चात देश आत्मनिर्भर हुन्छ, विना उद्योग रोजगारी र आर्थिक समृद्धि सम्भव छैन ।’ उद्योगको विकासले स्वदेशमा रोजगारीको सृजना हुने भएकाले औधोगिक क्षेत्रको स्थापनाका लागि सरकार प्रतिवद्ध भएको बताउनुभयो ।
नेपाल सरकारको अन्तर मन्त्रालयहरुको समन्वय गर्ने जिम्मेवारी समेत पाउनु भएका मन्त्री श्रेष्ठले शक्तिखोर औद्योगिक क्षेत्र र शक्तिखोर–मझिमटार सुरुङ मार्ग चितवनको गहना भएकोमा जोड दिनुभयो । शक्तिखोर– मझिमटार सुरुङमार्ग निर्माणले यस क्षेत्रमा भएका उद्योग कलकारखानालाई यातायातको सहज पहुच हुनुको साथै राजधानी जोड्ने अर्को विकल्प हुने बताउनुभयो । शक्तिखोर मझिमटार सडक निर्माण कार्य भइराखेको छ । चार वर्ष अगाडिबाट निर्माण सुरु भएको यस क्षेत्रमा सुरुङ मार्गको आवश्यकताको विषयमा वहस हुन थालेको छ ।
कार्यक्रममा चितवन क्षेत्र नं.२ का साम्सद तथा प्रतिनिधि सभा कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले देशमा उधोग कलकारखाना बिनाको समृद्धि संभावना नभएको भन्दै पार्टी भन्दा माथि उठेर देशको समृद्धिमा सबै लाग्नुपर्ने बेला आएको बताउनुभयो । देशकै मध्य भाग रहेको चितवन हरेक दृष्टिले महत्वपूर्ण भएकाले यहाँ उद्योग स्थापना हुदा लागत खर्च घटेर उपभोक्ताले सुलभमा सामग्री पाउन सक्नेमा जोड दिनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष बिश्वनाथ पौडेलले औद्योगिक क्षेत्रको स्थानीयको समस्या समाधान हुनेमा जोड दिनुभयो । आर्थिक विषयले धेरै क्षेत्रको समस्या समाधान गर्दछ उहाले भन्नुभयो यस क्षेत्रमा औद्योगिक क्षेत्र निर्माणको अपरिहार्य रहेको बताउनुभयो ।
चितवनको शक्तिखोरमा बन्ने औद्योगिक क्षेत्र देशकै मध्य भागमा रहेकोले यसको बढी महत्व रहेको भन्दै स्थानीयलाई रोजगारीको सृजना हुने बताउनुभयो । औधोगिक क्षेत्रको विकास गर्न सके नेपालीहरु बिदेशीने सख्यामा कमी आउने बताउनु भयो । पाँचा वर्ष अगाडिदेखि शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापना गर्ने भनेपनि इआइए, लगायत अन्य विविध कारणले काम अगाडि वद्न सकेको छैन ।
कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य देवी ज्ञवाली, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कंडेलले औद्योगिक क्षेत्रको निर्माणको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा, उद्योग संघ चितवनका पूर्व अध्यक्ष राजु पौडेल, उदयपुर सामुदायिक वनका अध्यक्ष केशव लामा, नेपाली काग्रेस कालिकाका सभापति दिपेश्वर केसी, माओवादी केन्द्रका नेता सबिता लामालगायतले औद्योगिक क्षेत्र र सुरुङ मार्गको बारेमा आ– आफ्नो भनाई राखेका थिए । कालिका नगरपालिकाका मेयर बिनोद रेग्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


