शालिग्राम नेपाल
चितवन २८ साउन । आम्दानी नभएर दानापानी खुवाउन नसक्ने भएपछि चितवनको सौराहामा निजी स्तरमा पालिएका हात्ती बिक्री गरिएको छ ।
कोभिड लागेर पर्यटक आउन छाडेपछि अहिले तीन वर्ष यता पचास प्रतिशत हात्ती घटेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराइले जानकारी दिनुभयो । तीन वर्ष अगाडि ६५ वटा रहेको सौराहा क्षेत्रमा अहिले विक्री गरेर ३२ वटा मात्र हात्ती छन् उहाले भन्नुभयो ‘पर्यटक आउदैनन् कमाइ छैन कसरी हात्ती पाल्ने ? पाल्नै नसक्ने भएपछि धमाधम बिक्री गरेर भारत पुगेको छ ।’ हात्ती बिक्री गर्न अदालतले नदिएपछि अहिले रोकिएको छ । बिक्रीको लागि १५ वटा हात्ती तयारी अवस्थामा रहेको थियो ।
सौराहामा पर्यटक घुमाउन भन्दै होटल तथा व्यक्तिले हात्ती पालेका थिए । ती पालिएका हात्तीहरु पर्यटक बोकेर मध्यवर्ती जंगलमा घुमाउन लैजाने गरिएको थियो । थारु वस्ती, जंगलमा गए वापत पर्यटकबाट शुल्क लिने गरिएको थियो । तीन वर्ष यता विदेशी पर्यटक आउन ठप्प जस्तै भएको छ अध्यक्ष भट्टराइले भन्नुभयो ‘आएका आन्तरिक पर्यटक पनि हात्ती सफारीमा कम हिड्न थालेपछि कमाइ घटेको हो । ’दानापानी किनेर खुवाउनु पर्ने, निजी हात्तीलाई निक्ुञ्ज भित्र चर्न जान नदिने भएपछि पाल्नै समस्या भएको छ ।
कोभिडपछि पर्यटकको कमी हुदा मध्यवर्ती क्षेत्रमा सफारीको लागि जाने हात्ती घटेको वाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जितु तामाङले बताउनुभयो । सौराहा क्षेत्रमा सवैभन्दा धेरै हात्ती सफारी गर्ने सामुदायिक वन बाघमारा हो । यहाँ तीन वर्ष अगाडि मात्रै विहान दुइ दर्जन र वेलुका दुइ दर्जन हात्ती सफारीका लागि जाने गरेका थिए । तर अहिले मु्स्किलले विहान वेलुका गरी १० वटा जाने गरेको छ अध्यक्ष तामाङले बताउनुभयो । पर्यटकको कमी भएसंगै मध्यवर्तीमा हात्ती प्रवेशबाट हुने कमाइ घटेको उहाले बताउनुभयो ।
चितवनको सौराहा र निकुञ्ज आसपासमा घुम्न आएका पर्यटकहरु हात्ती सफारी गर्न रुचाउने गर्दछन् । निकुञ्ज भित्र जीप सफारी, मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी जाने गर्दछ । सरकारी हात्ती पर्यटक घुमाउने गरिएको छैन । निकुञ्ज सुरक्षा र अन्य सरकारी कामको लागि प्रयोग गर्ने गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमु्ख संरक्षण अधिकृत हरिभद्र आचार्यले सरकारी हात्ती ६१ वटा रहेको जानकारी दिनुभयो । ती मध्य निकुञ्जमा ५२ वटा, राष्ट्रिय प्रकृति संरक्षण कोषमा ६ वटा र कोसीबाट आएका ५ वटा हात्ती रहेका छन् । ती सवै हात्ती सरकारी काममा लागि खटिने गरेको उहाले जानकारी दिनुभयो । पोथीहात्ती प्रजनन् केन्द्रमा रहेको छ भने भाले हात्ती निकुञ्जको सुरक्षा पोष्टमा सुरक्षार्थ खटिएको कार्यालयले जनाएको छ ।
वन्यजन्तु सुरक्षाको लागि हात्तीको ठुलो महत्व रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमु्ख संरक्षण अधिकृत आचार्यले बताउनुभयो । वन्यजन्तुको सुरक्षा संगै गैंडा गणना, बाघ गणना, निकुञ्जको गस्तीको लागि हात्ती प्रयोगमा आउने गरेको छ । सौराहाको हात्ती प्रजनन् केन्द्रमा २२ वटा हात्ती रहेको छ । १० वटा छावा र १२ वटा माउ हात्ती रहेको प्रजनन् केन्द्र खोरसोरका प्रमुख मनरुपन चौधरीले जानकारी दिनुभयो । केन्द्रमा अहिले दुइवटा हात्ती गर्भिणी अवस्थामा रहेको छ । १० वटा छावा मध्य ४ वटा तालिम दिने उमेरमा पुगेको छ ।
हात्ती दिवसको अवसर पारेर सौराहामा निजी तथा सरकारी हात्तीलाई शुक्रबार भोज खुवाइएको छ । हात्तीको संरक्षण गरौ, प्रकृतिको वरदान हात्तीको सुरक्षा भन्दै दिवस मनाइएको हो । चितवनको पर्यटन व्यवसायी, संरक्षणकर्मी, चितवन राष्ट्रिय निकुञ्ज, युनाइटेड हात्ती सहकारी लिमिटेडको संयुक्त आयोजनामा भोज खुवाएर दिवस मनाइएको हो ।