अभियान लघुवित्तको आईपीओ खुला : १० देखि ३ हजार कित्तासम्म आवेदन दिन पाउने

काठमाण्डौं १८ साउन । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन १८ गतेदेखि निष्काशन गरेको शेयरमा करिब साढे ४ लाख बढीको आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ४ लाख ३८ हजार २५५ जना आवेदकबाट ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको ५१ लख २८ हजार ४१० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो कुल निष्काशन गरेको ९ लाख ७५ हजार कित्ताको ५.२६ गुणा बढी हुन आउँछ । लघुवित्तले निष्काशन गर्न लागेको कुल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

सो आइपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ।

हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपैयाँ पुग्नेछ।

शेयर गरौ

ताजा अपडेट