चितवन समाचारडटकम, १२ फागुन :
जिल्ला समन्वय समिति चितवनले विकास निर्माणकालागि स्थानीय तहलाई ४१ करोड रुपैयाँ वितरण गर्ने तयारी गरेको छ ।
कार्यालयले साउन यता जिल्ला समन्वयको कोषमा जम्मा भएको रकम स्थानीय तहलाई वितरण गर्ने तयारी गरेको जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो ।
समन्वय समितिको कोषमा मालपोत कार्यालयबाट रजिष्ट्रेशन राजस्व बापत प्राप्त १६ करोड ६४ लाख र नदीजन्य टेण्डरको रोयल्टीबाट प्राप्त २४ करोड ६३ लाख रुपैयाँ जम्मा भएको कार्यलयको लेखा शाखाले जनाएको छ ।
यो रकमलाई कार्यविधि बनाएर स्थानीय तहका पालिका भवन निर्माण, वडा कार्यालय भवन निर्माण, विद्यालय भवन निर्माण, खानेपानी व्यवस्थानका साथै भवनहरुको मर्मत संभार गर्न वितरण गरिने जिल्ला समन्वय समितिका प्रमुख डल्लाकोटीले बताउनुभयो ।
निर्माण कार्य भने लागत साझेदारीका आधारमा गरिने कार्यविधि बनाइको छ । ‘मर्मत कार्यमा ५० प्रतिशत र निर्माणमा ७० प्रतिशतसम्मको साझेदारी गरिनेछ, अरु खर्च सम्वन्धित पालिकाले नै ब्वस्थापन गर्नेछन्’ डल्लाकोटीले भन्नुभयो ।
जिल्लामा रहेका सबै स्थानीय तहका प्रमुखहरुलाई योजना पेस गर्न भनिए अनुसार करिव डेढ अर्व रुपैयाँ बराबरका योजना आएको र ती मध्येलाई छनौट गरि बजेट सिलिङ अनुसार यसै हप्ताभित्र स्किृत गरिने उहाँले जानकारी दिनुभयो ।
वितरण गरिने ४१ करोड मध्ये २७ करोड रकम सोझै अनुदान र बाँकीलाई फेरी कार्यबिधि बनाएर दिईने समन्वय समितिले जनाएको छ । यो रकम आर्थिक वर्ष सकिएपनि फ्रिज नहुने कार्यालयले जनाएको छ ।