भारतीय महले नेपाली बजार लिएपछि चितवनको उत्पादन आठ महिनादेखि बिक्री भएन

 

चितवन, ३ साउन । भारतीय महले नेपाली बजार लिएपछि आठ महिनादेखि चितवनमा उत्पादन भएको मह बिक्री नहुदा मौरी पालक किसान विस्थापित हुने अवस्थामा पुगेका छन् ।
भारतीय महले बजार लिएपछि चितवनमा उत्पादन भएको महले बजार नपाउदा किसानहरु समस्यामा परेका छन् । नेपाली मह बिक्री हुन छाडेको मौरी पलक किसानले बजारको अवस्था सुधार गर्न सरकार संग माग गरेका छन् । गत मंङसिर महिनादेखि मौरी जोनमा उत्पादन भएको महले बजार नपाएको मौरी जोनका संयोजक रामप्रसाद पौडेलले जानकारी दिनुभयो । मौरी जोन भित्रमा उत्पादन भएको करिब दुइ करोड रुपियाँ बराबरको मह बिक्री नभएर घरघरमा थन्किएको उहाले बताउनुभयो ।
बैंकबाट ऋण लिएर मौरी पालेर उत्पादन गरेको मह बिक्री नभएपछि किसानहरु विस्थापित हुने अवस्थामा पुगेका छन् संयोजक पौडेलले भन्नुभयो ‘गुणस्तरहीन भारतीय महलाई बजारमा आउन रोकेर नोपली महले बजार पाउने अवस्था सिर्जना गर्न सरकारले ध्यान दिनु पर्दछ ।’
मंङसिर महिना अगाडि चितवनको मह लैजाने पतञ्जली, वुटवलको व्यापारी, काठमाण्डौं, दाङ लगायतका स्थानमा जाने गरेकोमा अहिले ती क्षेत्रबाट कुनै व्यपारीले अर्डर नगरेको उहाले बताउनुभयो । नेपाल मौरीपालक महासंघका अध्यक्ष शिव पौडेलले भारतीय महले गर्दा नेपाली उत्पादनलाई सधै समस्यामा पार्दै आएको बताउनुभयो । उहाले नेपालमा उत्पादन भएका महमा लगानी धेरै हुने, सरकारले अनुदान कम गर्ने र भारतमा त्यहाँको सरकारले उत्पादनको लागि अनुदान धेरै दिने गरेको हुनाले लागत रकम कम भएर सस्तोमा नेपालमा आउने गरेको बताउनुभयो ।
३० वर्षदेखि मौरी पालन गर्दै आउनु भएका भरतपुर ९ शरदपुरका विष्णु भुसालले यस वर्ष मह बिक्री नहुदा करोडौ रुपियाँ घाटा लागेको बताउनुभयो । मैरी पालन मात्र गरेर बस्ने किसानले उत्पादन गरेको महले बजार नपाउदा करोडौ रुपियाँ घाटा लागेको छ उहाले भन्नुभयो ‘किसानको विषयमा सरकारले बोलेको छैन ।’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख धनवहादुर थापाले नेपाली महको महत्वबारे सर्वसाधारणमा बु्झाउन नसक्दा पनि समस्या आएको बताउनुभयो । अब हामी जोन क्षेत्रमा रहेका महको प्रचारप्रसार, व्राण्डको व्यवस्था, क्युआर कोड, गुणस्तरीयतामा सुधार लगायतको काममा लागेर बजारमा सुधार ल्याउने तयारी गरिराखेको जानकारी दिनुभयो ।
उहाँका अनुसार हाम्रो उत्पादनलाई बजारको प्रतिष्पर्धामा उतार्न गुणस्तरीयता र व्राण्डमा सुधार गर्नु पर्दछ । उपभोक्ताले किन नेपाली मह खरिद गर्दैनन् भन्ने कुरा वुझेर बजारमा मह लैजाने उहाले बताउनुभयो । कार्यालयका अनुसार जोन अन्तर्गन एकसय ७५ जना किसानले मौरी पालन गर्दै आएका छन् । नेपाल मौरीपालक महासंघका अनुसार ४२ जिल्लामा मौरी पालक किसान छन् । ती बाट वार्षिक चारहजार टन मह उत्पादन हुदै आएको छ । नोपलमा आठ हजार टन महको खापत हुने गरेको छ । मौरी पालनमा १४ हजार भन्दा धेरै किसानहरु आवद्ध भएको महासंघले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट