भूमिगत विद्युत प्रसारणमा समस्या आउदा सिंगो माडी नगरपालिका अन्धकार

शालिग्राम नेपाल
चितवन, २५ असार । दुइवटा सर्किट नहुदा चितवनको माडी लैजाने भूमिगत विद्युत प्रशारण लाइनमा सधै समस्या आउने गरेको छ ।
पाँच वर्ष अगाडिदेखि भरतपुरबाट चितवन राष्ट्रिय निकुञ्जको बाटो हुदै माडीमा भूमिगत तार ओछ्याएर लगिएको थियो । निकुञ्ज भित्रको स्थानमा आउने समस्याका कारण हरेक महिना केही दिन अन्धकार हुदै आएको छ । यस वर्ष असार लागेदेखिनै समस्या आउदा उपभोक्ता हैरानीमा परेका छन् । पश्चिम चितवनको चनौली विद्युत वितरण केन्द्रका प्रमुख शिशिर लम्सालले भन्नुभयो ‘यो प्रशारण क्षेत्रमा दुइवटा सर्किट नहुदा धेरै समस्या आएको छ । ’
सिंगल लाइन भएको स्थानमा यस्ता समस्या आउने गर्दछ उहाले भन्नुभयो ‘एक हप्ता अगाडि चारदिनसम्म माडी नगरपालिका अन्धकार भयो ।’ यहाँ अन्य वैकल्पिक उपाय नहुदा स्थानीय अन्धकारमा बस्न वाध्य भएका छन् प्रमुख लम्सालले भन्नुभयो । ‘भूमिगत विद्युत प्रणालीमा समस्या आउने भएपनि माडीमा भने अन्यत्र भन्दा धेरै समस्या आएको छ ’ उहाले भन्नुभयो ‘समस्या आउना साथ छिटो मर्मत गर्न सकिदैन त्यसले गर्दा विद्युत विहिन हुनु पर्दछ । ’
चाहेरपनि हामीले तत्काल समाधान गर्न सक्दैनौ लम्सालले भन्नुभयो ‘राती समस्या आए निकुञ्जमा गएर मर्मत गर्न सक्दैनौ । दिउसो पनि सुरक्षा निकायबाट अनुमती लिएर जानु पर्ने हुन्छ, वन्यजन्तुको आक्रमण हुने डर भएकाले यहाँ विशेष सावधानी अपनाउनु पर्ने भएकाले काम गर्न जटिल छ ।’ असार लागेपछि पनि धेरै पटक विद्युत वन्द भएको कार्यालयले जनाएको छ । निकुञ्जमा विछ्याइएका सिंगल तार भएसम्म समस्या यस्तै हो । अहिले भइराखेको भन्दा बाहेक अर्को तार विछ्याउन अध्ययन पूरा भएको छ लम्सालले भन्नुभयो ‘पहिलो वातावरण प्रभाव मुल्याङकन इआइए भैसकेको छ अब पुरक इआइए भएर काम गर्न अनुमती दिएपछि टेण्डर आव्हान गर्ने तयारी छ ।’
माडी नगरपालिकाका स्थानीय श्याम विष्टले भन्नुभयो ‘हरेक महिना समस्या आउने गर्दछ तर यस पटक असार लागेपछि धेरै समस्या आएको छ । पहिला विद्युत नहुदा सोलारबाट उर्जाको काम गरिदै आएको थियो । विद्युत पुगेपछि सोलार प्यानल र व्याट्री सबैले हटाइ सकेका छन् ।’ चार दिनसम्म विद्युत बन्द हुदा माडी नगरपालिका प्रभावित भएको छ । यहाँका वित्तीय सस्था, शैक्षिक सस्था व्यापारिक प्रतिष्ठान, सरकारी कार्यालय सबैमा असर पारेको उहाले बताउनुभयो ।
माडीका स्थानीय संञ्चारकर्मी सुर्य पाठकले विद्युत वन्द हुदा सञ्चार माध्यमबाट बन्चित हुनु पर्ने बाध्यता भएको बताउनुभयो । स्थानीय रेडियो समेत सञ्चालन गर्दै आउनु भएका पाठकले भन्नुभयो ‘विद्युत वन्द भएपछि रेडियोको व्याट्रीले नधानेर वन्द हुन्छ, इन्टरनेट अवरुद्ध, गर्मीमा पंखा बन्द विद्युतबाट चल्ने हरेक उपकरण बन्द हुदा समाजनै प्रभावित भएको छ ।’ पटक पटक आउने समस्या समाधान गर्न रानजीतिक नेतृत्वले ध्यान नदिएको उहाले बताउनुभयो । २०७३ मङ्सिर ४ गतेबाट सुरु भएको भूमिगत विद्य्ुत प्रणाली वर्षातमा धेरै समस्या आउने गरेको छ । दुइवटा भूमिगत तार नभएसम्म समस्या उस्तै हुने कार्यालयले जानकारी दिएको छ ।

शेयर गरौ

ताजा अपडेट