शालिग्राम नेपाल
चितवन, २३ असार । भूकम्पले घर भत्काएर क्षती बनाएका चितवनका छ हजार नौ सय २७ जनाको घर निर्माण सम्पन्न भएका छन् ।
२०७२ सालमा आएको भूकम्प र त्यसबाट क्षती पुगेको चितवनका नागरिकको सवै घर अझैसम्म निर्माण पूरा हुन सकेको छैन । सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख प्रकाश अर्यालका अनुसार विभिन्न कारणले छुटेकाहरुले पुनरावेदन समितिबाट मुद्दा जितेर आएकाहरु र अन्य केहीको रकम आउन ढिलाइ भएको कारण सबैले पाउन नसकेको जानकारी दिनुभयो ।
कार्यालयका अनुसार सूचना थाहा नपाएर वा अन्य कारणले छुटेका लाभग्राहीले राष्ट्रिय पुन निर्माण प्राधिकरण पुनरावेदन समितिमा मुद्दा हालेर जितेपछि उनीहरुको नाममा रकम आउनु पर्नेछ । सो रकम आइ नसकेको, प्रवलिकरणबाट अहिलेसम्म कायम भएकाहरुको, दोस्रो र तेस्रो किस्तामा आउनु पर्ने रकमहरु निकासा ढिला भएका कारण लाभग्राहीले नपाएको कार्यालयले जनाएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना कार्यान्वयन इकाइका इन्जिनियर सुवास न्यौपानेका अनुसार प्रवलीकरण (रेट्रोफिटिङ वर्ग)बाट पुननिर्माणमा परिवर्तन भएकाहरुको सख्या ७५३ जना रहेका छन् । पुनरावेदनबाट मुद्दा जितेर आएका ९७ जना रहेका छन् । ती सवैको रकम अहिले आउन नसकेको कार्यालयले जानकारी दिएको छ । पुनरावेदनबाट मुद्दा जितेर आएका ९७ जनाले अहिलेसम्म पहिलो किस्ताको समेत रकम पाउन सकेका छैनन् ।
कार्यालयका अनुसार अहिलेसम्म प्रगती विवरण हेर्दा काम सम्पन्न भएको ९१.६ प्रतिशत रहेको छ । मुद्दा जितेर आएका बाहेक सातहजार आठ सय ९० मध्य ७ हजार ५६१ जनाले पहिलो किस्ता लिइसेका छन् । दोस्रो किस्ता लिनेको सख्या सातहजार २१३ रहेको छ भने तेस्रो किस्ता लिने छ हजार ९२७ जना रहेका छन् ।
कार्यालयले पहिलो किस्तामा घर निर्माण गर्नको लागि भन्दै जग राख्न ५० हजार रुपियाँ दिने गरेको छ । त्यसपछि दोस्रो किस्तामा एकलाख ५० हजार र तेस्रो किस्तामा बाँकी एक लाख रुपियाँ दिने गरको छ । भूकम्पबाट पीडित भएर घर भत्केकाहरुले जम्मा तीनलाख रुपियाँ पाउने व्यवस्था रहेको छ । चितवनको इच्छाकामना गाउपालिका, राप्ती नगरपालिकाको पहाडी क्षेत्रमा रहेका चेपाङ, गुरुङ, मगर, तामाङ वस्तीमा भूकम्पले क्षती पारेको थियो । भूकम्प गएको लामो समय भैसक्दा पनि चितवनमा भने पुननिर्माण काम सम्पन्न हुन सकेको छैन । २०७२ वैशाख १२ र त्यसपछि आएको पराकम्पले क्षती पारेको थियो । भूकम्पले क्षती पारेको प्रभावलाई हेर्दा चितवन पहिलो नम्वरमा पर्न सकेन । प्राथमिकतामा पछि परेपछि यहाँ पुननिर्माणको कामपनि ढिलो गरी आएको थियो । २०७४ सालबाट सुपरभिजन भएपनि मंसिर महिनाबाट मात्र निर्माणको काम सुरु भएको थियो ।