चितवन समाचार डटकम, ११ फागुन ।
जिल्ला प्रशासन कार्यालय चितवन र ईच्छाकामना गाँउपालिकाको संयुक्त आयोजनमा बिकट चेपाङ गाँउ भाराङमा चलाइएको दुई दिने एकीकृत घुम्ती शिविरबाट दुई सय १६ जनाले नागरिकता लिएका छन् ।
ईच्छाकामना गाँउपालिका वडा नम्वर १ मा रहेको श्री आधारभुत विद्यालय भाराङमा हिजो र आज गरी दुई दिन चलाईएको शिविरमा दुई सय १६ जनाले नागरिकता प्राप्त गरेको गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले चितवन समाचारडटकमलाई जानकारी दिनुभयो । ‘नागरिकता पाउनेमा सबैजसो बिपन्न चेपाङ समुदायका छन्, महिला र बृद्धबृद्धाको संख्या उलेख्य छ ’–गुरुङले भन्नुभयो ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले एकीकृत घुम्ती शिवीरमा २४ जना बृद्धवृद्धाले जेष्ठ नागरिक परिचयपत्र, एक सय ५० जनाले मतदाता परिचय पत्र बनाएको जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य शिवीरमा तीन सय ३४ जनाले चेकजाँच गरेका छन् । कृषी ज्ञानकेन्द्र , भेटेरेनरी सेवाले तीनहजार तीन सय ९२ वटा पशुचौपायालाई औषधि बितरण गर्नुका साथै एक सय ९७ घरधुरीलाई विउविजन दिएको छ । त्यसवडामा ८ सय घरधुरी छन् ।
स्वास्थ्य शिवीरमा आँखा, दाँत, र आयुर्वेद स्वास्थ्य चेकजाँच तथा औषधि वितरण निःशुल्क गरिएको छ । फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसुती रोगको चेकजाँचपनि गरिएको छ । स्वास्थ्य शिविरमा गैरसरकारी संस्था क्लिनिक नेपालले सहयोग गरेको थियो । निजि , सामुदायिक साझेदारीमा कार्यक्रम गरिएको हो ।
बिकट पाहाडी गाँउमा शिवीर सञ्चालन गरेर अत्यन्त प्रभावकारी भएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले प्रतिक्रिया दिनुभयो । आगामी दिनमा यस्तै बिकट र बिपन्न समुदायका बिच यस्ता सहुलियतपूर्ण कार्यक्रमहरु सञ्चालन गरिने उहाँले बताउनुभयो ।