काठमाडौं, ११ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयको मुलगेटमा गराइएको बम बिष्फोटमा भएका घाइते र आफन्तलाई भेटेका छन् ।

प्रहरी प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित अस्पताल पुगेका गृहमन्त्री थापाले दोषीलाई खाजेर कानूनी कठघरामा उभ्याउने प्रतिवद्धता सुनाए । घाइते प्रतिक्षा खड्का र उषा मानन्धर तथा उनीहरुका आफन्तलाई भेट्न मन्त्री थापा शनिबार विहान मेडिसिटी अस्पताल पुगेका हुन् ।
विष्फोटमा घाइते सिंहप्रताप गुरुङ्गको उपचारकै क्रममा ज्यान गइसकेको छ । गृहमन्त्री थापाले उपचाररत घाइतेका आफन्तसँग भेटी उपचारको सबै खर्च सरकारले व्यहोर्ने बताएका छन् । उनले हिजो देशभर बम आतंक सिर्जना गरिएको बताउँदै सबै घटनाको अनुसन्धान र छानविन गरी दोषीमाथि कार्वाही हुने बताए ।