चितवन, १० असार । चितवनमा यस वर्ष धान उत्पादन वृद्धि भएको छ । राष्ट्रिय तथ्याङक भन्दा दोब्बरले चितवनमा धान उत्पादन परिमाण वृद्धि भएको हो ।
गत वर्ष धान उत्पादन प्रतिहेक्टर ४ देखि ५ मेट्रिक्टन रहेकोमा यस वर्ष भने वृद्धि भएर ६.५ मेट्रिक्टन धान उत्पादन वृद्धि भएको हो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यालय चितनवका अनुसार विउ छनौट र समयमा रासायनिक मल हाल्दा उत्पादन वृद्धि भएको अनुमान गरिएको छ ।
राष्ट्रिय रुपमा धान उत्पादनको विवरणलाई हेर्दा प्रतिहेक्टर ३.८ मेट्रिक्टन रहेको छ । चितवनको विवरण हेर्दा दोब्बर वृद्धि भएको देखिन्छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना चितनवका सूचना अधिकारी माधव पौडेलले भन्नुभयो उत्पादन वृद्धि भएको छ यसलाई हामीले फाइलन बनाएर केन्द्रमा पठाउने तयारी गर्दैछौ । प्रति हेक्टर साढे ६ मेट्रिक्टन उत्पादन हुनु भनेको ज्यादै राम्रो हो उहाले भन्नुभयो सवै ठाउँबाट हामीले विवरण राख्दै छौ । चैते धानको उत्पादन वृद्धि स्वभाविक हो तर वर्षे धानसमेत उत्पादन वृद्धि भएको पाएका छौ पौडेलले भन्नुभयो ।
उत्पादन वृद्धि हुनुको कारणहरुमा जात परिवर्तन, रोग किरा नलाग्नु, महंगोमा भएपनि किसानले रासायनिक मल किनेर हाल्नु, समयमा वर्षा हुनु, किसानले आफ्नो बालीको निगरानी राख्नु सवै कारणले गर्दा वृद्धि भएको कार्यालयले जनाएको छ । चैते धान जिल्लामा ७ हजार ५ सय हेक्टरमा लगाउने गरिएको छ । जिल्लामा २८ हजार हेक्टरमा धान लगाउने गरिएको कार्यालयले जानकारी दिएको छ ।
चितवनमा हरिर्दनाथ १, चैते ५, सावित्री लगायतको धान लगाउने गरेको कार्यालयले जनाएको छ । पराल राम्रो हुने भएकाले सावित्री धानको माग वृद्धि भएको हो । उत्पादन गरेको धान स्टोर गरेर राख्न नसक्ने र तत्काल बिक्री गरेर पछि किनेर खाने प्रचलनले गर्दा धानको मुल्य किसानले राम्रो नपाउने गरेको कार्यालयले जनाएको छ ।