तीर्थ नेपाल ,चितवन समाचारडटकम, फागुन ११ ।
चेपाङ समुदायको सघनबस्ती रहेको चितवनको पाहाडी ईलाकामा रहेका बिद्यालयहरुमा बिद्यार्थीलाई पठानपठानमा नियमित गर्नै मुस्किल छ । भौगोलिक भुनोट, गरिवी, सचेतना, अभाव सबैकुराले चेपाङ बालवालिका गुणस्तरीय शिक्षा बाट बञ्चित हुन परेको छ ।
कालिका नगरपालिका वडा नम्वर १० तीनदोभानमा रहेको राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक फणिन्द्र पनेरुलाई शुक्रवार विद्यार्थीलाई अड्याउनै हम्मे हम्मे थियो । जम्मा १ सय १३ जना बिद्यार्थी संख्या रहेको सो बिद्यालयमा पढ्न आएका बिद्यार्थी नजीकैको चर्चमा भोज खान भनेर कक्षा छाडेर हिड्न खोजीरहेका थिए । प्रधानाध्यापक पनेरुले केही समय त रोकेर राख्नुभयो । तर दिउसो एक नबज्दै अधिकांश बिद्यार्थी चर्च जान भनि बाहिरीएको प्रधानाध्यापक पनेरुले बताउनुभयो । यही समस्या बारे अभिभावकहरुलाई बोलाएर सम्झाई बुझाई गरेपनि पठनपाठनमा अफ्ठ्यारो भैरहेको पनेरुले बताउनुभयो । ‘केही दिन अघि झण्डै एक साता विद्यार्थी आएनन्, चर्चमा दिनहुँ भोज रहेछ ’ पनेरुले भन्नुभयो, ‘धर्म मान्ने स्वतन्त्रता सबैको छ तर पढाईमा नै अबरोध आएर समस्या भयो ।’
स्कुले उमेरका झण्डै तीस जना चेपाङ बालवालिका तीनदोभान नजिकैको चोकमा शुक्रवार मध्यान्ह भेला भएका थिए । समुह बनाएर हिडेका उनीहरुले नजिकैको चर्चमा भोज भएकाले त्यता हिडेको बताए । बिद्यालय नगएर उनीहरु चर्चमा भोज खान जान हतारमा देखीन्थे ।
कालिका नगरपालिकाका प्रमुख गोपी श्रेष्ठले त्यस क्षेत्रका बिद्यालयमा आवासीय सुविधा सहित दिवा खाजाको ब्यबस्था गर्न लागिएको जानकारी दिनुभयो । कक्षा हापेर अन्यत्र जाने गरेको समस्याबारे आफु जानकार रहेको जनाउँदै प्रमुख श्रेष्ठले आगामी शैक्षिकसत्रबाट आवासीय सुविधा सहितको ब्यवस्था गर्ने बताउनुभयो ।
ईच्छाकामना गाँउपालिका वडा नम्वर १ मा रहेको राष्ट्रिय आधारभुत बिद्यालयमा पनि समस्या उस्तै छ । कक्षा ६ सम्म पढाई हुने बिद्यालयमा २ सय ९ जना बिद्यार्थी छन् । बिद्यार्थी संख्या त राम्रो छ तर नियमित गराउनै समस्या रहेको प्रधानाध्यापक दीपबहादुर गुरुङले बताउनुभयो । अघिल्लो शैक्षिक सत्रमा दिवा खाजाको ब्यवस्था थियो, खाजाको कारण पनि बिद्यार्थी आउँथे, अहिले खाजा नभएकैकारण आउनेको संख्या घटेको छ । करिव ४० प्रतिशतको हाराहारीमा बिद्यार्थी नियमित हुने गरेको गुरुङले बताउनुभयो ।
ईच्छाकामना गाँउपालिकाका शिक्षा अधिकृत दिपक सिग्देलले खाजा नियमित गर्न गाँउपालिकाले योजना बनाईरहेको बताउनुभयो । ‘खाजाको कारण त छदैछं, अभिभावक मेलापातमा जादाँ ठुलाले सानालाई घरमा कुरेर बस्नुपर्ने बाध्यता पनि रहेछ,’ सिग्देलले भन्नुभयो ।