भरतपुर महानगरपालिकालाई अर्वौ मुल्यको जग्गा प्राप्ती

 

चितवन, ९ असार । नेत्रज्योती संघ चितवनले भोगचलन गर्दै आएको जग्गा भरतपुर महानगरपालिकाको स्वामित्वमा आएको छ । भरतपुर १० स्थित संघले भोगचलन गर्दै आइरहेको एक बिघा १५ धुर जग्गा महानगरले प्राप्त गरेको हो ।
एक बिघा ७ कठ्ठा १५ धुर मध्ये एक बिघा १५ धुर जग्गा महानगरले प्राप्त गरेको हो । बिहीबार संघले सम्झौता गरेर उक्त जग्गा महानगरलाई हस्तान्तरण गरेको हो । सम्झौता पत्रमा मेयर रेनु दाहाल र संघका अध्यक्ष कृष्णराज धरेलले हस्ताक्षर गर्नु भएको थियो ।
भरतपुर महानगरपालिकाले अहिलेसम्मकै ठूलो सफलता हात पारेको जनाएको छ । चितवनको मुटु भरतपुरमा रहेको अरबौं मूल्यको जग्गा महानगरले प्राप्त गर्न सफल भएको छ । नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल चिजकुमार विष्णुकुमारी बहिरङग सेवा विभागको भवनको स्थान समेत हुने गरि उत्तम पश्चिम तर्फबाट ७ कठ्ठा जग्गा भने संघकै दर्ता भोग रहने गरि सहमती पत्रमा उल्लेख छ ।
तर कुनै कारणले सो जग्गा नेपाल नेत्रज्योति संघको नाममा दर्ता हुने अवस्था नभएमा समेत संघले अस्पताल र सो सम्बन्धी परियोजना सञ्चालन गर्न पाउनेमा महानगरपालिकाले मञ्जुरी दिएको छ ।
यस्तै सम्झौता पत्रमा नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पतालको सेवा सञ्चालन गर्न आवश्यक पर्ने अस्पताल भवन २०४० साल माघ ३ गतेको मन्त्रीपरिषद्को निर्णयबाट उपलब्ध गराईएको जग्गामा निर्माणका लागि संघले डीपीआर तयार गरि महानगरपालिकाबाट स्वीकृत गराई सोही डीपीआर अनुसार अस्पताल निर्माणका लागि भरतपुर महानगरपालिकाले आवश्यक स्रोत व्यवस्थापन गर्न महानगरपालिका पूर्ण रुपमा मञ्जुर रहेको छ । साथै महानगरपालिकाले उक्त भवनको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गर्ने उल्लेख छ ।

सम्झौता पत्रमा रोहबरको रुपमा उपमेयर चित्रसेन अधिकारी, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, महानगरका उपसचिव सुकदेव लम्साल, भरतपुर–१० का वडा अध्यक्ष परमेश्वर खनाल, नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य चिजकुमार मास्के, चितवन शाखाका कोषाध्यक्ष तेजेन्द्र खड्का, सह–सचिव केशवप्रसाद अधिकारी र अधिवक्ता गोपीलाल देवकोटाले हस्ताक्षर गर्नु भएको थियो ।
सम्झौता भएपछि अब सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढ्ने महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले जानकारी दिनुभयो । उहाका अनुसार महानगरले आफ्नो नाममा जग्गा दर्ताका लागि सरकारसंग सिफारिस गर्ने र सो अनुसार सरकारले उक्त महानगरपालिकाको नाममा दर्ता गर्ने प्रक्रिया रहन्छ । सो जग्गामा महानगरपालिकाले निर्माण गर्न लागेको एक अर्बको अत्याधूनिक प्रशासकीय भवन समेत विस्तार हुनेछ । ‘महानगरपालिका लागि भवन निर्माण, पार्किङ र समग्र रुपमा सेवा प्रवाहका लागि हामीलाई राम्रो ठाउँ प्राप्त भएको छ, जनसंख्या वृद्धि हुँदै जाँदा पछिसम्मलाई सेवा विस्तार गर्न यसले धेरै ठूलो सहयोग पु¥याउँछ’–प्रमुख प्रशासकीय अधिकृत सुवेदीले भन्नुभयो ।
महानगरपालिकाले प्राप्त गरेको जग्गामा आइसल्याण्ड जंगल रिसोर्ट संचालनमा रहेको थियो । सो रिसोर्टको सम्झौता सकिएपछि अहिले खाली अवस्थामा रहेको छ । सो जग्गा युनाईटेड स्टेट अफ अमेरिका एजेन्सी फर इन्टरनेशनल डिभलपमेन्ट मिसन टु नेपाल (युएसएड) का नाउँमा फिल्ड बुक दर्ता कायम रहेको भरतपुर १०÷ङ कि.नं.२९ को ज.वि.१–७–१५ (एक बिघा ७ कठ्ठा १५ धुर) जग्गा सन् १९९० जनवरी १० तद्अनुसार (वि.सं.२०४६ पुस २६ गते) गतेको युएसएडको निर्णयले उक्त जग्गा र सो जग्गामा रहेको भौतिक संरचनासहित नेपाल नेत्रज्योति संघलाई हस्तान्तरण गरेको थियो । सोही मितिदेखि नै सो जग्गा हालसम्म संघले हकभोग गर्दै आइरहेको थियो ।

जग्गा प्राप्त भएसँगै महानगरको प्रशासनिक क्षेत्र फराकिलो बनाउन सकिने मेयर दाहालले बताउनुभयो । अब सो जग्गा भरतपुर महानगरपालिकाको नाममा लालपूर्जा बनाउने प्रक्रिया अघि बढाइने उहाले जानकारी दिनुभयो ।

शेयर गरौ

ताजा अपडेट