चितवन समाचार डटकम
१० पोखरा । नेपाल पत्रकार महासंघको पोखरामा सम्पन्न साधारणसभाले प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने निर्णय गरेको छ ।
देशभरीबाट भेला भएका महासंघको केन्द्रीय सभासदको भेलाले आउदो निर्वाचनबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने हलले सर्वसम्मत रुपमा पारित गरेको हो । नेपालको इतिहासमा पत्रकार महासंघले पहिलो पटक यो अभ्यास गर्ने निर्णय गरेको छ ।
फागुन ९ र १० गते दुइदिनसम्म चलेको विधान सम्मेलनले गरेको निर्णय अनुसार अब महासंघका हरेक साधारण सदस्यले आफ्नो नेतालाई चुन्ने अधिकार रहनेछ । केन्द्रीय अध्यक्षदेखि पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी र जिल्लाका समिती सबै चुन्न साधारण सदस्यले मतदान गर्ने अधिकार हुनेछ ।
संघीय गणतन्त्र मुलुक भएपछि यो प्रणालीबाट जानको लागि पत्रकार महासंघमा यस अगाडिदेखि प्रयास भएको थियो । तर विभिन्न समयमा भएको महासंघको साधारणसभामा यो विषय उठेपनि पूर्णता भने पाएको थिएन । यस पटकको साधारणसभामा पत्रकार महासंघको कार्यसमितिले ल्याएको प्रत्यक्ष निर्वाचन प्रणालीलाई सभामा सहभागी भएका सबै सभासदले स्वीकारेपछि पारित भएको थियो ।
प्रणाली अन्र्तगत केन्द्र, प्रदेश, जिल्लाको निर्वाचन एकै दिन सम्पन्न हुनेछ । पत्रकार महासंघका साधारण सदस्यले पनि जिल्लादेखि केन्द्रसम्मका उमेदवारलाई मत हाल्न पाउने छ । आफूले चाहेको उमेद्वारलाई मत दिएर जिताउन सक्ने छ । यो व्यवस्थाले गर्दा खर्च कम भएर योग्य उमेद्वारले मात्र महासंघले नेतृत्व लिन सक्ने अवस्था आएको महासंघका पूर्व अध्यक्ष शिव गाउलेले बताउनु भयो ।
‘जो पनि उमेद्वार हुने र नेतृत्व गर्ने परिपाटीको अन्त्य हुन्छ’ उहाले भन्नु भयो ‘अब योग्य असल उमेदवारले मात्र निर्वाचन जितेर पत्रकारिताको क्षेत्रमा आमुल परिवर्तन आउन सक्छ ।’ जिल्ला प्रदेश केन्द्रमा गरी अलगअलग निर्वाचन भएर प्रतिनिधि छनौट गर्दै अधिवेशन गर्दा लाग्ने खर्च घटेर व्यवस्थित निर्वाचन हुने महासंघका अध्यक्ष गोविन्द आचार्यले बताउनु भयो । प्रत्यक्ष निर्वाचन प्रणाली अहिलेको आवश्यकता नै भएकाले सबैले यसलाई स्वीकार गरेको उहाँको भनाइ छ ।
दुइदिनसम्म चलेको विधान संसोधनको अधिवेशनले गरेका निर्णयको बारेमा भोली पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दैछ । साथै साधारण सभाले विधिन्न १७ वुदे प्रस्ताव पारित गरेको छ । प्रस्ताव नं। १ मा नेपालको संविधान २०७२ मा उल्लेख भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गर्न जोडदार माग गरेको छ ।
त्यस्तै गरी नागरिक अभिव्यक्ति स्वतन्त्रताको हकलाई सुरक्षित गर्दै पूर्ण प्रेस स्वतन्त्रतासहित छुट्टै कानुन यथासिघ्र निर्माण गर्न आग्रह गरेको छ । साथै न्युनतम पारिश्रमिक, लोक कल्याणकारी विज्ञापन, प्रेस पासको वितरण जिल्लाबाट हुनु पर्ने, समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सहितका १७ वुदे प्रस्ताव पारित गरेको छ