पुँजीगत खर्च हुनै कठिन : संघको २८, प्रदेशको ३२ प्रतिशत मात्र खर्च

 

चितवन, ५ असार । चितवन जिल्लामा विकास निर्माणको बजेट खर्च हुन सकेको छैन । चालु आर्थिक वर्षको अन्त्यसम्म आइसक्दा संघीय बजेटको पुँजीगत खर्च २८.७४ प्रतिशत मात्र भएको छ ।

प्रदेश सरकारको बजेटको खर्चको अवस्था पनि उस्तै रहेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय भरतपुरका अनुसार प्रदेश मातहतको पुँजीगत खर्च ३२.३४ प्रतिशत रहेको छ । असार लागिसक्दा पनि विकास निर्माण तर्फको बजेट खर्च हुन नसक्नुले बजेट फ्रिज हुने सम्भवान वृद्धि भएर गएको छ ।

कार्यालयका प्रमुख मणिभद्र न्यौपानले भन्नुभयो ‘असारमा खर्चको चाप एकैपटक वृद्धि भएर अहिलेको दोब्बर भएमा पनि ५६ प्रतिशत भन्दा माथि जान सक्दैन ।’ एक वर्षभरीमा खर्च नभएर वर्षातको समयमा एकैपटक बजेट खर्च गर्ने परिपाटीको अन्त्य नभएसम्म खर्चको अवस्था यस्तै आउने उहाले बताउनुभयो ।

जिल्लामा संघीय सरकारको कुल पुजीगत बजेट १० अर्व २ करोड २२ लाख १९ हजार ३६९ रहेको छ । त्यसमा जेठ महिनाको अन्तिमसम्म २ अर्व ८८ करोड २ लाख ४० हजार ८९० रुपियाँ खर्च भएको छ । यसको प्रतिशत २८.७४ हुन आउछ ।

संघीय चालु बजेट भने ८७.३७ प्रतिशत खर्च भएको छ । संघको चालु १२ अर्व ७८ लाख पाँच हजार ८१४ रुपियाँ रहेकोमा जेठ महिनाको अन्तिमसम्म १० अर्व ४९ करोड ३५ लाख ४२ हजार २१० रुपियाँ खर्च भएको छ ।

प्रदेश सरकारबाट विनियोजित बजेटको खर्चको अवस्था पनि संघको जस्तै रहेको छ । कार्यालयका कोष नियन्त्रक मुक्तिप्रसाद चापागाइका अनुसार पुजीगत खर्च ३२.३४ प्रतिशत भएको छ । कुल ३ अर्व २९ करोड ४४ लाख ४२ हजार बजेटमा १ अर्व ६ करोड ५६ लाख एक हजार ५४७ रुपियाँ खर्च भएको छ ।

चालु बजेटमा भने ६०.३२ प्रतिशत खर्च भएको छ । चालु कुल बजेट एक अर्व ५२ करोड ८७ लाख २७ हजार रहेकोमा जेठ महिनाको अन्तिमसम्म ९२ करोड २१ लाख ३४ हजार ८६ रुपियाँ खर्च भएको छ ।

पुँजीगत खर्च नहुनुमा विकास निर्माणको सामग्रीमा मुल्य वृद्धि हुने, ठेक्का सम्झौतामा भन्दा निर्माण सम्पन्न गर्दा लागत खर्च वृद्धि भएर काम गर्न नसक्ने भन्दै ठेकेदारले काम नगर्दा बजेट खर्च हुन नसकेको हो । अहिले विकास निर्माणको काम गराउनको लागि कठिन भएको छ ।

 

शेयर गरौ

ताजा अपडेट