चितवन समाचार डटकम, फागुन १० ।
१० फागुन । जिल्ला प्रशासन कार्यालय चितवन र ईच्छाकामना गाँउपालिकाको संयुक्त आयोजनमा बिकट चेपाङ गाँउ भाराङमा दुई दिने एकीकृत घुम्ती शिविर आजबाट शुरु भएको छ ।
ईच्छाकामना गाँउपालिका वडा नम्वर १ मा रहेको श्री आधारभुत विद्यालय भाराङमा शिविर शुरु भएको हो । शिविरमा जिल्ला प्रशासन कार्यालयसहित विभिन्न सात वटा विषयगत कार्यलयहरुले स्थलगत सेवा दिएका छन् । नागरिकता वितरण, जन्मदर्ता, विवाह दर्तासहित स्वास्थ्य शिविर, कृषि तथा भेटनरी सेवा निःशुल्क उपलब्ध गराइएको हो ।
शिविर उद्घाटन समारोहमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले ईच्छाकामना–१ की ७५ वर्षिया बृद्धा चनिमाया प्रजालाई संयुक्त रुपमा नागरिकता वितरण गर्नुभयो ।
चाउरी परेका बृद्ध अनुहार, चप्पलविहिन फुटेका खुट्टामै एक घण्टा पैदल हिडेर आएकी चनिमायाले गाउमै नागरिकता पाँउदा खुसी ब्यक्त गर्नुभयो । जीवनको उतरार्धमा नागरिकता पाँउदा उहाँमा खुसीको सिमा थिएन । नागरिकताकै अभावमा उहाँ सरकारले दिदैं आएको बृद्धभत्ताबाट समेत बञ्चित हुनुहुन्थ्यो । ‘अब मैले भत्ता पनि पाँउने भए, जे भएपनि बुढेसकालमा केही सजिलो हुने भयो’ नागरिकता हातमा परेपछि चनिमायाले भन्नुभयो ।
सो स्थानमा बिपन्न चेपाङ समुदायको बसोबास छ । शिविरमा विशेषगरी बृद्धबृद्धा र महिला उत्साहजनक सहभागी भएका छन् ।
करिब दुईसय जना स्थानीय समुदाय शिविरमा आएका छन् । उनीहरुलाई सबै सेवा निःशुल्क रुपमा वितरण गरिसकेर मात्र टोली फर्कने प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो । आँखा, दाँत, र आयुर्वेद स्वास्थ्य चेकजाँच तथा औषधि वितरण निःशुल्क गरिएको छ । फिजिसियन, हाडजोर्नी, स्त्री तथा प्रसुती रोगको चेकजाँचपनि गरिएको छ । स्वास्थ्य शिविरमा गैरसरकारी संस्था क्लिनिक नेपालले सहयोग गरेको छ । निजि , सामुदायिक साझेदारीमा कार्यक्रम गरिएको हो ।
शिविरमा कृषि ज्ञान केन्द्रले मकैको बिउ र केही कृषि उपज जानकारीहरु किसानलाई दिएको छ । बिकट स्थान र सिमान्तकृत समुदायको बसोवास क्षेत्र भएकाले यो ठाँउ रोजेर शिविर गरिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताउनुभयो ।
कार्यक्रममा ईच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले नागरिकता जस्तो आधारभुत विषयवाट समेत जनता बन्चित रहेको अवस्थालाई मध्यनजर गर्दै एकीकृत घुम्ती शिविर सञ्चालन गरेको बताउनुभयो । ‘यहाँ विकासका कार्यक्रमहरु पनि अघि बढाईदैछ, सडक, विद्यालय, स्वास्थ्य सेवा आदिमा ध्यान दिदैं गाँउपालिका अघि बढीरहेको छ’ गुरुङले भन्नुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहले जिल्लामा शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी सदैव सक्रिय रहेको बताउदैं पहाडी बस्तीमा कतिपय ठाँउमा अवैध गाँजा खेती हुनेगरेकोमा स्थानीयको ध्यानकर्षण गराउनुभयो । गाँजा, रक्सी सेवनले हानी पु¥याउँछ, गाँजाको खेतीपनि यदाकदा भएको सुनिएको छ, यहाँका समुदाय यसतर्फ नलाग्नुहोला–सचेत गराउदैं शाहले भन्नुभयो ।
विषयगत कार्यालयहरुले घुम्ती शिविर संगैं सार्वजनिक सुनुवाई पनि गरेका थिए ।
यसै अवसरमा शिविर स्थल नजिकै ईच्छाकामना गाँउपालिकाले निर्माण गरेको सामुदायिक स्वास्थ्य ईकाईको पनि आजै उद्घाटन गरिएको छ । प्रजिअ बस्नेत र गाँउपालिका अध्यक्ष गुरुङले स्वास्थ्य ईकाईको उद्घाटन गर्नुभयो । सो केन्द्रमा एकजना अहेव खटाइएको गाँउपालिकाले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयसहित विषयगत विभिन्न कार्यालयका गरी ६० जना कर्मचारी जनशक्ति शिविरमा खटिएको छ ।