काठमाण्डौं ३० जेठ । भारतले चिनीको निकासीमा रोक लगाएको मौका छोपेर नेपालका उद्योगीले मिलेमतोमा चिनीको भाउ बढाएका छन् । दुई सातायता चिनीको खुद्रा मूल्य १० रुपैयाँसम्मले बढेको नेपाल खुद्रा व्यापार संघका अध्यक्ष अमुलकाजी तुलाधरले बताए । ‘दुई साताअघिसम्म हामीले थोकमा ८५ देखि ९० रुपैयाँ प्रतिकेजीमा चिनी पाउँथ्यौँ र उपभोक्तालाई ९० रुपैयाँदेखि ९५ रुपैयाँ प्रतिकेजीसम्ममा बिक्री गथ्र्यौँ,’ उनले भने, ‘तर, अहिले हामीले नै प्रतिकेजी एक सय पाँच रुपैयाँसम्म हाल्नुपरेको छ, त्यसो हुँदा बजारमा प्रतिकेजी एक सय १० रुपैयाँसम्म पुगेको छ ।’
चिनीको भाउ बढ्नुअघि बजारमा अभाव सिर्जना गरिएको समेत उनले बताए । ‘सुरुमा चिनी अभाव गरियो, हामीले पाँच बोरा माग्दा दुई बोरा मात्रै पाउन थाल्यौँ, बजारमा चिनीको अभाव देखिन थालपेपछि दुईपटकजति भाउ नै बढेर आयो,’ उनले भने, ‘किन भाउ बढ्यो भनेर सोध्दा उत्पादन कम भयो भनेर जवाफ दिन्छन् ।’
बजारमा आयातीत चिनी नभएको मौका छोपेर उद्योगीले मिलेमतोमा चिनीको भाउ अस्वाभाविक रूपमा बढाएको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाको दाबी छ । ‘अहिले चिनीको भाउ यति धेरै बढ्नुपर्ने वैज्ञानिक कारण छैन, भारतले चिनीको निकासीमा रोक लगाएको र यता साल्ट ट्रेडिङसँग मौज्दात सकिएको मौका छोपेर उद्योगीले चिनीको भाउ बढाएका हुन्,’ उनले भने, ‘कारखानाबाटै मूल्य बढेर आएको मौका छोपेर व्यापारीले पनि मनलाग्दी भाउ बढाएका छन् ।’ भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि चार महिनासम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाएको छ ।
चिनीको मूल्य अनियन्त्रित
अहिले बजारमा चिनीको मूल्य अनियन्त्रित देखिएको अधिकारकर्मी तिमल्सिनाले बताए । उनले भने, ‘बजारमा पसलैपिच्छे चिनीको भाउ प्रतिकेजी पाँच–सात रुपैयाँले फरक पर्नु भनेको मूल्य नियन्त्रणबाहिर छ भनेर बुझ्नुपर्छ ।’मूल्य अनियन्त्रित हुँदासमेत सरकार मूकदर्शक मात्रै भएको उनले आरोप लगाए । बजार भाउ अनियन्त्रित भएको खुद्रा व्यापार संघका अध्यक्ष तुलाधर पनि स्वीकार गर्छन् । तर, यसमा खुद्रा व्यापारीभन्दा पनि उत्पादक र वितरकको हात रहेको उनको भनाइ छ ।
गुनासो आएको छ, अध्ययन गर्दै छौँ स् वाणिज्य विभाग
बजारमा चिनीको मूल्य बढेको गुनासो आएपछि विभागले अनुगमन तथा अध्ययन गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका प्रवक्ता हरि पंगेनीले बताए । ‘हामी आफैँ पनि उपभोक्ता हौँ, हामीले पनि मूल्य वृद्धिको अनुभव गरिरहेका छौँ, गुनासो समेत आएको छ, बजारमा चिनीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेको बुझिएको छ,’ उनले भने, ‘यस विषयमा हामीले चिनी उद्योगीहरूसँग स्पष्टीकरण मागेका छौँ, चिनीको भाउ बढ्नुका कारण र आधारहरू सोधेका छौँ ।’ उद्योगीले जवाफ पठाएपछि थप विश्लेषण गरेर विभागले कारबाही गर्ने उनले बताए । ‘स्वाभाविक मूल्यवृद्धि रहेछ भने त्यसलाई घटाउने वा व्यवस्थापन गर्ने प्रयास हुनेछ, यदि अस्वाभाविक मूल्यवृद्धि रहेछ भने उद्योगी–व्यवसायीलाई कारबाही गर्नेछौँ,’ उनले भने ।
उद्योगीको अनुरोधपछि सरकारले तीन वर्षअघिदेखि चिनीको आयातलाई निरुत्साहित गर्दै आएको छ । तर, त्यसको असर उपभोक्ताको भान्सादेखि अन्य उत्पादनसम्ममा परे पनि सरकार मूकदर्शक बनेको छ । उद्योगीले चिनीमा आत्मनिर्भर भएको दाबी गर्दै आयात रोक्न र भन्सार बढाउन सरकारलाई निरन्तर दबाब दियो । सरकारले वैशाख ०७५ मा चिनी आयातमा लाग्ने भन्सार १५ प्रतिशतबाट दोब्बरले बढाएर ३० प्रतिशत पुर्यायो । त्यसपछि मन्त्रिपरिषद्ले ३१ भदौ ०७५ मा चिनीको आयातमा परिमाणात्मक बन्देज लगायो ।
चैत मसान्त ०७५ सम्मका लागि चिनी आयातमा गरिएको परिमाणात्मक बन्देजलाई लम्ब्याएर असार मसान्तसम्मका लागि निरन्तरता दिइयो । तर, त्यहीबीचमा उद्योगीले चिनीको भाउ पटक–पटक वृद्धि गरे । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी आयात निरत्साहित गर्न लगाएर उद्योगीले भाउ बढाएर धोका दिएको गुनासोसमेत गरेका थिए ।
अहिले नेपालमा वार्षिक दुई लाख ५० हजार मेट्रिकटन चिनीको माग रहेको संघको अनुमान छ । तर, स्वदेशी उद्योगले एक लाख ३० हजार मेट्रिकटन हाराहारी मात्रै आपूर्ति गरिरहेका छन् । स्वदेशी उद्योगले मागको ५५ प्रतिशत हाराहारी आपूर्ति गरिरहेको संघका सचिव दिवाकरण पाण्डेले जानकारी दिए । नयाँ पत्रिकाबाट