काठमाडौं २७ जेठ । साताको अन्तिम कारोबार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ । परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १४ दशमलव ६४ अंक घटेर २ हजार ४८ दशमलव १६ विन्दुमा झरेको हो ।
यस दिन कारोबारमा आएका २२९ धितोपत्रको ३० लाख ४५ हजार ८३८ कित्ता शेयर १८ हजार ६१७ पटकमा रू। ८९ करोड ४१ लख २४ हजार ११४ बराबरको शेयर खरीदविक्री भएको छ । पछिल्लो समय शेयर बजार घट्दो ट्रेण्डमा रहेको छ । ३ हजार २०० पुगेको बजार २ हजारको विन्दु वरिपरि आउँदा लगानीकर्ताको खर्बौको सम्पत्ति गुमेको छ ।
यस्तो अवस्थामा नियामक निकायले लगानीकर्ताको हितमा केही नीतिगत सुधार हुन सकेमा बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । विगत पाँच दिनदेखि विभिन्न लगानीकर्ताका संघ, लगानीकर्ताहरुले नीतिगत सुधारका लागि माग गर्दै आन्दोलन गर्दै आएका छन् ।
शुक्रवार पनि लगानीकर्ताहरुले आफ्ना माग राख्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शक्ति प्रदर्शन गरेका छन् । बजार ३ हजार २०० पुगेको बेलामा ठूला लगानीकर्ता भन्दा पनि धेरै साना लगानीकर्ता मारमा परेका देखिन्छन् । सोही कारण नियामक निकायले पनि लगानीकर्ताका हितमा काम गर्नुपर्ने हुन्छ ।
शुक्रवार कारोबारमा आएका २२९ ओाट धितोपत्रमध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था र ग्रीन भेन्चर्स लिमिटेडको शेयर मूल्य १० प्रतिशत र बलेफी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य प्रतिकित्ता रू। २ हजार ८२९ दशमलव ६०, ग्रीन भेन्चर्सको रू। २९१ दशमलव ६० र बलेफी हाइड्रोपावर कम्पनीको रू। २७१ दशमलव २० पुगेको हो । यी तीनओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।
त्यसैगरी शुक्रवार सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७५ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन् । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। १ हजार ४४२ दशमलव १० मा झरेको हो । त्यसैगरी दोस्रोमा युनिलिभर नेपालको शेयरमूल्य ५ दशमलव २५ प्रतिशत घटेर रू। १७ हजार ३८७ कायम भएको हो ।
सर्वाधिक शेयर खरीदविक्री कुमारी बैंकको भएको छ । कम्पनीको रू। ५ करोड ५ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू। २०८ दशमलव ५० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रो कम्पनीमा नेपाल इन्भेष्टमेण्ट बैंकको रू। ४ करोड २४ लाख बराबरको भएको हो ।
कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । १३ समूहगत परिसूचकमध्ये सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूहको समूहगत परिसूचक २ दशमलव शून्य २ प्रतिशत घटेको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ३७ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ९ प्रतिशत, वित्त समूहको १ दशमलव १९ प्रतिशत र होटल एण्ड टुरिजम समूहको १ दशमलव २६ प्रतिशतका दरले घटेको हो ।
त्यस्तै हाइड्रोपावर समूहको समूहगत परिसूचक शून्य दशलमव ३० प्रतिशत, लगानी समूहको शून्य दशलमव ८४ प्रतिशत, जीवन बीमा समूहको शून्य दशमलव ७० प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५८ प्रतिशत, म्युचुअल फण्ड समूहको शून्य दशमलव ३१ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव ९३ प्रतिशत, अन्य समूहको १ दशमलव ८२ प्रतिशत र व्यापार समूहको समूहगत परिसूचक १ दशमलव २६ प्रतिशतका दरले घटेको हो ।