काठमाण्डौं २१ जेठ । यस साता नेप्से परिसूचक साढे ६ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन २२२३.७८ विन्दुमा रहेको नेप्से, यस साता ६.५२ प्रतिशत अर्थात १४५.०८ अंक घटेर २०७८.७० विन्दुमा झरेको छ।
साताको पाँचै कारोबार दिन बजार नकारात्मक भएसँगै नेप्सेले सो बराबरको अंक गुमाएको हो। यस साताको बजारलाई आइतबार सार्वजनिक भएको बजेटले पनि केही प्रभाव पारेको देखिन्छ। लगानीकर्ताहरुको अपेक्षालाई सम्बोधन गर्न नसकेका कारण बजार बढ्न नसकेको जानकारहरु बताउँछन्।
यस साता सेन्सेटिभ इण्डेक्स ६.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ६.१९ प्रतिशत र सेन्सेटिभ इण्डेक्स ६.२० प्रतिशत घटेको छ।
नेप्से घटेपनि यस साता कारोबार रकम, शेयर संख्या र कारोबार संख्या भने बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब १४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १ अर्ब २४ करोडको शेयर कारोबार भएको छ। त्यसैगरी, यस साता कारोबार भएको दैनिक औषत शेयर संख्या ९.१७ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ११.६६ प्रतिशत बढेको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण २ खर्बभन्दा बढी घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पूँजीकरण, यस साता घटेर २९ खर्ब ५९ अर्बमा सीमित भएको छ।