चितवन प्रशासनद्वारा पानी उद्योगको अनुगमन, मापदण्ड पूरा नगरेका दुई उद्योग बन्द

 

चितवन समाचार डटकम, फागुन ८ ।
जिल्ला प्रशासन कार्यालय चितवन र खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालयले आज जिल्लामा सञ्चालित पानी उद्योगको अनुगमन गरेको छ ।
अनुगमनका क्रममा मापदण्ड विपरित रहेका दुईवटा उद्योगलाई बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले चितवन समाचार डटकमलाई जानकारी दिनुभयो ।
बन्द गरिएका उद्योगमा भरतपुर महानगरपालिका वडा नम्वर १० सिंचाई रोडमा रहेको अप्सरा वाटर ईण्डष्ट्रिज र भरतपुर महानगरपालिका वडा नम्वर ११ जखेडीमाईमा रहेको बि एस एम वाटर एण्ड वेभरेज रहेको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालयबाट महेश पौडेल, खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अधिकृत विके राउतसहितको टोली गएको थियो । अनुगमनका क्रममा ती पानी उद्योगहरुले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिम मापदण्ड पुरा नगरेको पाइएकाले बन्द गर्नुपरेको अधिकृत राउतले बताउनुभयो । मापदण्ड अनुसार अटोमेटिक प्रबिधि मेशिन प्रयोग गर्नुपर्ने हुन्छ । तर, यी उद्योगले हाते मेशिन प्रयोग गर्दै आएका थिए ।
आज यी दुई सहित सातवटा उद्योगको अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६ वटा पानी उद्योग सञ्चालित छन् । अटोमेटिक प्रविधि मेशिन प्रयोग गर्न पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि बन्द गर्न बाध्य भएको प्रशासनले जनाएको छ ।

ताजा अपडेट