चितवन ८ चैत । ‘पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ चैत ९ गते बुधवारदेखि चितवनमा हुँदैछ ।
नेपाल नेपाल कृषि मेसिनेरी व्यवसायी संघको आयोजनामा १२ गतेसम्म प्रदर्शनी हुनेछ । संघले दोस्रो पटक चितवनमा यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको हो । यस अघि २०७६ सालमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी पनि चितवनमा नै आयोजना भएको थियो ।
नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, आधुनिकीकरण, व्यवसायीकरण, तथा औद्योगिकरण गर्न प्रदर्शनी आयोजना गरिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए । प्रदर्शनीमा बिभिन्न २० भन्दा बढी राष्ट्रबाट कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिका ५२ प्रदर्शनकर्ताहरु सहभागी हुने उनले बताए । आधुनिक कृषि, पशुपालन, मत्स्य पालन, पुष्प तथा तरकारी खेती, प्रशोधन तथा बजारीकरण सम्बन्धी यन्त्र, उपकरण, बिउ बिजन तथा आधुनिक सिँचाईलगयातका राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका कम्पनीहरु सहभागी हुनेछन् ।
चितवन अन्तराष्ट्रिय औद्योगिक प्रदर्शनी परिसरमा हुने दुई सय भन्दा बढी प्रकारका उपकरण तथा प्रविधिहरु प्रदर्शनीमा राखिनेछ । प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, औजार, उपकरण, यन्त्रका बिषयमा जानकारी दिईनेछ । प्रदर्शनीमा नीती निर्माण, पेशागत समूह, अनुसन्धानकर्ता, कृषकलगायत सरोकारवालाहरुलाई कृषि यन्त्र र प्रविधि बारे जानकारी दिईने संघका अध्यक्ष कटुवालले बताए ।
प्रदर्शनीले कृषि यान्त्रीकरण, प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुग्ने तथा कृषि यान्त्रीकरण र कृषकबीच कार्यगत समन्वयमा पनि मद्त पुग्ने उनको विश्वास छ । प्रदर्शनीमा मेड ईन नेपालको छुट्टै परिसर रहनेछ ।
प्रदर्शनीमा कृषि कर्जा मेला पनि हुनेछ । उक्त कृषि कर्जा मेलामा २६ वटा बैंकले प्रतिनिधित्व गर्ने संघकी सदस्य सुनिता नेमाफुकीले जानकारी दिईन् । उनका अनुसार विश्वमा दोस्रो पटक तथा एसियामा पहिलो पटक कृषि कर्जा मेला हुन लागेको हो ।
मेलामा बैंकहरुले कृषि कर्जाका सम्पूर्ण प्रक्रिया बारे परामर्श दिनेछन् । यस्तै पूर्ण कागजात ल्याउने किसानहरुका लागि मेलाबाट नै कर्जा क्रिया अघि बढाइने नेमाफुकीले बताईन् ।
यस्तै प्रदर्शनीको दुई दिन राष्ट्रिय कार्यशाला गोष्ठी पनि हुनेछ । गोष्ठीमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी उपस्थित हुनेछन् । यस्तै कृषि कर्जा प्रमुख, देशका बिभिन्न १६ वटा बैंकका सिईओ तथा वित्तिय संस्थाका प्रतिनिधिहरु पनि गोष्ठीमा सहभागी हुने उनले जानकारी दिईन् ।
प्रदर्शनीमा नि:शुल्क माटो परीक्षण प्रयोगशाला पनि रहनेछ । प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ । देशभरका ७० जिल्लाका एक लाख भन्दा बढीले प्रदर्शनी अवलोकन गर्ने आयोजकको अनुमान छ ।


