चितवन ६ चैत । नेपाल उद्योग संघको अध्यक्षमा डा तिलचन्द्र भट्टराई चयन भएका छन् । शनिबार चितवनको सौराहामा भएको संघको दोस्रो साधारण सभा तथा अधिवेशनले डा भट्टराईको अध्यक्षतामा १५ पदाधिकारीसहित १०१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत गठन गरेको हो ।
कमिटीको उपाध्यक्षहरुमा सुनिल श्रेष्ठ, अर्जुनकुमार मैनाली, चिन्तामणि बास्तोला, महासचिवमा ईश्वरबहादुर गुरूङ, उपमहासचिवमा दुर्गाप्रसाद गौतम, देवेन्द्रप्रसाद चौलागाईं, कोषाध्यक्षमा राजकुमार बन्जारा, सचिवहरुमा शोभा कोइराला, शोभाकान्त बस्याल, बिक्रमलिम्बु चेम्जोङ र प्रेम बस्नेत रहेका छन् ।
अन्य पदाधिकारीको पछि मनोनयन गरिने गरी अधिवेशनको बन्दसत्र समापन गरिएको निर्वाचन समितिका अध्यक्ष भीमलाल पौडेलले जानकारी दिए ।
पदाधिकारीमा अधिकांश व्यक्तिहरु दोहोरिएका छन् । अध्यक्ष डा भट्टराई र महासचिव गुरूङ दोस्रो कार्यकालका लागि पुनः चयन भएका हुन् ।
बन्दसत्र अघि भएको उद्घाटन सत्र तथा साधारण सभामा अध्यक्ष डा भट्टराईले १० पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन सभाले पारित गरेको छ । यस्तै, महासचिव ईश्वरबहादुर गुरूङले प्रस्तुत गरेको प्रतिवेदन पारित भएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, प्रतिनिधिसभा सांसद् तथा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघका अध्यक्ष एलबी साम्बा लिम्बु, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, विभिन्न जिल्लाबाट आएका संघका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
२०७० सालमा स्थापित नेपाल उद्योग संघ नेकपा एमालेको जनवर्गीय संगठन हो । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको एक अंग हो । यस संघले ‘राष्ट्रिय उद्योगको विकास, लगानीको सुनिश्चितता समृद्धिमा हाम्रो प्रतिबद्धता, आजको आवश्यकता’ भन्ने नारालाई आत्मसात् गर्दै अघि बढिरहेको छ ।


