मानवीयता खोई ? चितवनमा एम्बुलेन्सको हडताल

चितवन समाचार डटकम
७ फागुन । जस्तो सुकै बन्द हड्ताल, आन्दोलन आदिमापनि एम्बुलेन्स, शववहान निर्वाद रुपमा सञ्चालन हुने गरेको छ । जस्तो सुकैबेलामा पनि एम्बुलेन्स सञ्चालनमा कसैले रोक लगाउदैन । जतिसुकै अप्ठयारो अवस्थामा पनि विरामीलाई अस्पताल लैजान र ल्याउन पाइन्छ ।
तर चितवनका एम्बुलेन्स चालकहरुले आफ्नो स्वार्थलाई हेरेर हड्ताल गरेका छन् । न अहिले कुनै आन्दोलनको समय छ । नत कुनै परिवर्तनको मुद्दा उठेको छ । राज्यले लगाएको नियम पालना गर्नु पर्ने भन्दै राज्यको निकायले एम्वुलेन्समाथि अनुगमन गर्दा चालकहरुले त्यसको विरोधमा बन्द गराएका छन् ।
संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियन चितवनले आज जिल्लामा एम्वुलेन्स नचलाउने भन्दै भरतपुर अस्पताल र अन्य अस्पतालको वरीपरी रोकेर राखेका छन् ।
समस्या के छ त ?
जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले जिल्लाका एम्वुलेन्सहरुको दर्ता, नविकरण, विरामी बोकेको वा नबोकेको विषयमा आज अनुगमन गरेको थियो । अनुगमन गर्ने क्रममा संयुक्त एम्वुलेन्स चालक संघ ट्रेड युनियन चितवनले जथाभावी स्थानमा अनुगमन गर्न नपाइने भन्दै हडताल गरेको छ । युनियनका जिल्ला अध्यक्ष सुमन घलेले भन्नु भयो ‘अनुगमन गर्ने हो भने हामीलाई पत्र काटेर कार्यालयमा बोलाएर अनुगमन गर्नु पर्दछ बाटोमा गर्न पाइदैन ।’
चालकको लाइसेन्स खोज्ने, विलबुक खोज्ने, चलिराखेको एम्वुलेन्सलाई रोकेर चेकजाँच गर्ने काम कुनैपनि समितिले गर्न नहुने यनियनको माग छ । आफ्नो अनुमती वेगर अनुगमन गर्न नपाइने भन्दै आन्दोलनमा उत्रेको अध्यक्ष घलेले बताउनु भयो ।
अनुगमन गर्न आएका टोलीको एक सदस्य शोभाखर अधिकारीले भन्नु भयो एम्वुलेन्सहरुको दर्ता, चालकको लाइसेन्स, विलबुक नभएको, नविकरण नभएको, विरामी भन्दा अन्य व्यक्ति बोकेको भन्ने गुनासो आएपछि अनुगमन गर्न आएको छौ । अनुगमन गर्ने भन्ने तयारी गर्ना साथ चालकहरु हड्तालमा उत्रेको उहाले बताउनु भयो ।
गाउँमा दर्ता हुने तर शहर बजारका अस्पतालमा बिरामी कुरेर बस्ने भन्दै चितवन समाचार डटकमले यस अघि समाचार प्रकाशित गरेको थियो । चितवन सहित अन्य जिल्लामा दर्ता भएका तर चितवनको अस्पतालमा विरामी कुरेर बस्दा सेवाग्राहीले एम्बुलेन्सको सेवा नपाएको गुनासो रहेको छ । पटकपटक एम्बुलेन्स चालकहरुले गरेका कमजोरीको विषयमा समाचार आउदा पनि प्रशासनले प्रभावकारी काम गर्न सकेको छैन । अनुगमन टोलीलाई नै अवरोध गरेर चालकहरुले अनुगमन गर्न दिएका छैनन् । टोलीमा जिल्ला रेडक्रस, प्रहरी, स्वास्थ्य कार्यालयका प्रतिनिधिहरु सहभागी छन् ।

ताजा अपडेट