रत्ननगर ०६ फागुन ।
पूर्व अर्थमन्त्री तथा प्रतिनिधि सभा सांसद सुरेन्द्र पाण्डेले शिक्षकले राम्ररी नपढाए जागिर चैट हुने प्राबधान ल्याउन सके मात्र सामुदायिक बिद्यालय सुध्रने बताउनुभएको छ ।
नेता पाण्डेले सामुदायिक विद्यालयका शिक्षकहरु आफ्नो पेशाप्रति जिम्मेवार नभएको बताउनुभयो । रत्ननगर १५ स्थित आधारभूत विद्यालय माधवपुरको स्वर्ण महोत्सव अन्तर्गत स्वर्ण स्तम्भ अनाबरण कार्यक्रममा वोल्दै नेता पाण्डेले शिक्षकहरु पेशाप्रति जिम्मेवार नभएकै कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताउनुभयो । सामुदायिक विद्यालयकाका शिक्षकहरुलाई जागिर जाला भन्ने डर छैन उनले भने डर नभएको ठाउँमा राम्रो काम पनि हुदैन । उहाँले सरकारले शिक्षकहरुलाई आवश्यक तलव दिएको भएपनि शिक्षकहरुले जिम्मेवार भएर नपढाएको बताउनुभयो । नेता पाण्डेले सामुदायिक विद्यालयमा आवश्यक पूर्वाधार र उपकरण हुँदाहुँदै पनि शिक्षककै कारण गुणस्तर सुधार हुन नसकेको बताउनुभयो ।कार्यक्रममा स्वर्ण स्तम्भको अनावरण,सरस्वती मन्दिरको उद्घाटन र स्वर्ण स्मारिकाको विमोचन गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वालकृष्ण ढकालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयका अध्यक्ष रमेश लामिछानेको अध्यक्षतमा भएको कार्यक्रममा प्रदेश सांसद कृष्णप्रसाद खनाल,रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,वडा अध्यक्ष हुमनाथ लामिछाने,जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख दीपेन्द्र सुवेदी,नगर शिक्षा अधिकृत राजेन्द्र बराल,शिक्षक अभिभावक संघका अध्यक्ष विजय खनाल,छात्रा सचना धमला लगायतले वोल्नुभएको थियो । २०२४ सालमा स्थापना भएको सो विद्यालयमा हाल २५७ जना विद्यार्थी अध्ययनरत छन ।


