चितवन समाचार डटकम , ६ फागुन ।
भरतपुर अस्पतालले बिभिन्न कारणले अशक्त भएका विपन्न ४० जनालाई आज निशुल्क ह्वीलचियर र पाँच जनालाई ट्राईसाईकल वितरण गरेको छ ।
प्रजातन्त्र दिवसको सन्दर्भ पारी अमेरिका कोलोराडो स्थित लेटर डे सेन्ट च्यारिटी नामक सामाजिक संस्थाको सहयोगमा अस्पतालका तर्फवाट ह्वीलचियर वितरण गरिएको भरतपुर अस्पतालका मेडीकल सुपरिटेन्डेन डाक्टर कृष्णप्रसाद पौडेलले चितवन समाचार डटकमले जानकारी दिनुभयो ।
आर्थिक रुपले विपन्न मेरुदण्ड, पक्षघात र खुट्टा नचल्ने समस्या भएकालाई सहयोग गरिएको हो । निशुल्क रुपमा वितरण गरिएको ह्विलचियर र ट्राईसाईकलको बजार मुल्य १६ लाख ५० हजार पर्ने डाक्टर पौडेलले वताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले अपाङ्ग भएका व्यक्तिहरुलाई सहानुभुती नभई माया गर्नुपर्ने बताउनुभयो । अस्पताल र कार्यालयहरु अपाङ्ग मैत्री बनाउदै जानुपर्ने डल्लाकोटीले बताउनुभयो ।
कार्यक्रममा सहयोगी संस्था लेटर डे सेन्ट च्यारिटीका निर्देशक मिस्टर ब्लेनले नेपालमा यसप्रकारको सहयोग गर्न पाउँदा आफुहरु खुसी भएको बताउनुभयो ।
शारिरिक अशक्तता भएका बिपन्न व्यक्तिहरुलाई ह्वीलचियरले ठुलो राहत मिल्ने ठानेर आफुहरुले सहयोग गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भरतपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष खिमलाल भण्डारीले दातृ निकायका सहयोग र अस्पतालको आफ्नै प्रयासमा यस किसीमका कार्यहरु गर्दै जाने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
अमेरिकी सहयोगी संस्था लेटर डे सेन्ट च्यारिटीले विगतमा पनि अस्पतालमा सहयोग गरेको थियो ।