चितवन समाचार डटकम
६ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा सडक निर्माण नगर्नु भनी अदालतबाट फैसला आएपछि यसको विरोधमा माडीका स्थानीय युवाहरुले चरणबद्ध दवाव मुलक कार्यक्रमको घोषणा गरेका छन् ।
माडीसहित मध्यवर्ती क्षेत्रको उत्पीडन विरुद्धको अभियान नाम दिइएको कार्यक्रमबारे आज भरतपुरमा पत्रकार सम्मेलनगरी जानकारी गराइयो । अभियानका संयोजक मिलनदीप पौडेलले आजदेखि फागुन २१ गतेसम्म गरिने १५ दिने विविध कार्यक्रम बारे जानकारी दिनु भयो । अन्तरक्रिया, ¥याली, प्रदर्शन, ज्ञापनपत्र जस्ता कार्यक्रमहरु तय गरिएका छन् ।
माडीमा कुनैपनि वहानमा विकासको कामलाई अवरोध गर्न नहुने अभियानले माग राखेको छ । कार्यक्रम अन्र्तगत फागुन १४ गते पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा अन्तरक्रिया गरिने अभियानका संयोजक पौडेलले जानकारी दिनुभयो । फागुन १६ देखि १९ सम्म भरतपुरमा १२ घण्टे रिले अनसन २० गते प्रदर्शन र २१ गते भेला आयोजन गरिएको छ । त्यसै गरी आजदेखि २० गतेसम्म भरतपुरको चौविसकोठीमा साँझ ४ः३० देखि ५ बजेसम्म प्लेकार्ड सहित नियमित मौन प्रदर्शन गर्ने जनाइएको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र तेजबहादुर केसीको संयुक्त इजलासले चितवन राष्टिय निकुन्ज क्षेत्रभित्र सडक निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । फैसलामा, ‘निकुञ्जको कार्यालय, युनेस्कोलगायत सरोकारवाला निकायको परामर्श र सहमतिमा गरिएको वातावरणीय प्रभाव अध्ययनले अनुमति नदिएसम्म निकुञ्जभित्र पर्ने गरी सडक निर्माणसम्बन्धी कुनै कार्य नगर्नु नगराउनु’ भनिएको छ । माडीका स्थानीय जनप्रतिनिधिसहित अगुवाले फैसला प्रती असन्तुष्टी जनाउदै आएका छन् ।