हेटौंडा २० असोज । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–२ तीनभँगालेमा युरेनियमको खानी फेला परेको वर्षौं भयो। रेडियो विकीरणयुक्त युरेनियम आणविक ऊर्जा उत्पादन र आणविक शस्त्र निर्माणमा प्रयोग गरिन्छ।
युरेनियमको खानी पत्ता लागेपछि सुनसान रहने गाउँमा आवतजावत गर्नेको संख्या बढ्न थाल्यो। प्रायः दैनिकजसो गाउँमा नयाँ नयाँ मानिसहरु पुग्ने र खानीको बारेमा सोधपुछ गर्ने गर्थे।
गाउँलेसँग कुराकानी गरेपश्चात खानीनजिक पुगेर कोहीले माटोसमेत बोकेर जाने गर्थे। पछिल्ला ६ महिनायता भने गाउँमा नयाँ मान्छे कोही पुगेका छैनन्। तर, युरेनियमको खानी भएको ठाउँका गाउँले भने त्रसित छन्।
त्यहाँका बासिन्दा सामान्य बिरामी हुँदा पनि खानीकै कारण समस्या भएको शंका गर्ने गर्छन्। जिल्लाका अन्य ठाउँका भन्दा तीनभँगालेको बासिन्दा धेरै बिरामी हुने गरेकोले युरेनियमका कारण स्वास्थ्यमा नकारात्मक असर परेको हुन सक्ने उनीहरूको बुझाई छ।
तीनभँगालेका जीतबहादुर रुम्बा गाउँमा युरेनियमको खानी भएकै कारण अधिकांश गाउँलेमा क्यान्सर, सुस्त मनस्थिति र शरीरमा खटिराजन्य समस्या धेरै हुने गरेको आशंका गर्छन्।
खानीनजिकै रहेको मुहानबाट निस्कने पानी गाउँका सबै बासिन्दाले खाने गरेकोले युरेनियमकै कारण धेरै जनामा स्वास्थ्य समस्या देखिएको उनको ठम्याइ छ।
‘तीनभँगालेमा हामी सय/डेढ सय घरपरिवार छौं। अधिकांशका घरमा कोही न कोही बिरामी भएकै हुन्छ, खानेपानी पनि कहिले सफा त कहिले पहेँलो आउँछ। पहिला पनि खानीकै कारण धेरै जनामा क्यान्सर भएको हामीले सुनेका थियौं। अहिले पनि हामीलाई त्यसैले गर्दा बिरामी भएको महसुस हुन्छ,’ उनले भने।
रुम्बाले छिमेकी वडामा भन्दा आफ्नो वडामा धेरै जना बिरामी हुने, विद्यार्थी पढाइमा कमजोर हुने, सुस्त मनस्थिति देखिने र सामान्य बिरामी हुँदा पनि हत्तपत्त ठिक नहुने गरेको भन्दै सबैमा खानीको त्रास रहेको गुनासो गरे।
उनले भने, ‘हामीले खानेपानी मात्रै सफा आइदिएको भएपनि त्यस्तो महसुस हुँदैनथ्यो तर पानी पनि प्रायः पहेँलो नै आउँछ। त्यसैले हामीलाई धेरै समय बाँचिएला भन्ने पनि लाग्दैन।’ रुम्बाले खानी उत्खनन् गरेर स्थानीयलाई त्रासमुक्त गर्न सरकारसँग आग्रह गरे।
सोही ठाउँका दीपक स्याङतानले गाउँको पानीले नुहाउनै डर लाग्ने गरेको बताए। ‘खानीकै छेउमा रहेको मुहानबाट पानी आउँछ। त्यो पानीले नुहाउने बित्तिकै ज्यानभरि खटिरा आउने र चिलाउन थाल्छ। मुहान पनि अन्यत्र सार्न सकिएन, खानीको छेउमा रहेको मुहानबाट आउने पानी प्रयोग गर्दा हामी सधैं त्रासमा नै भयौं,’ उनले दुखेसो गरे।
युरेनियमको खानीकै कारण समस्या भएको ठोकुवा गर्न नसके पनि खानीनजिकै भएकाले डर लाग्ने गरेको उनी बताउँछन्। उनले निर्वाचनका बेला तीनभँगालेको बासिन्दा धेरै बिरामी हुने गरेको भन्दै खानीभन्दा पर गाउँ स्थानान्तरण गर्ने कुरा भएपनि हालसम्म कार्यान्वयन नभएको बताए।
खानी आसपासका बोटबिरुवा मर्ने र पलाएका रुख पनि कमजोर हुने गरेको उनको भनाई छ। वर्षौंदेखि तीनभँगालेको बासिन्दा खानीको त्रासमा रहँदा सरकारले त्यसको व्यवस्थापनमा ध्यान नदिएको गुनासो स्याङतानले गरे।
यसअघि २०६५ सालतिर तत्कालीन धियाँल गाउँपालिकामा रहेको तीनभंगालेको अधिकांश बासिन्दामा युरेनियमकै कारण क्यान्सर र अपांगता देखिएको कतिपयले बताएका छन्।
मकवानपुरका अग्रज सञ्चारकर्मी प्रताप विष्टका अनुसार त्यतिबेला तीनभँगालेमा पहेलो रङ मिसिएको पानी खाँदा धेरैमा क्यान्सरजस्तो घातक रोग संक्रमण भएको थियो।